लण्डन साउन ३२ ।

ग्रीनवीच भलिबल क्लवद्वारा आयोजित यस वर्षको खुला भलिबल प्रतियोगिताको उपाधि दुई टीमले बांडेका छन् ।
आइतबार वुल्लिचको रोयल आर्टिलरी ब्यारेकको खेल मैदानमा सम्पन्न प्रतियोगितामामा मोना यूके र अल्डरसट भलिबल क्लब दुवै विजेता घोषित भएका छन् । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टीमले २/२ सेट जितेर बराबरी गरेपछि उपाधि बांडेर दुवै टीमलाई विजेता घोषित गरिएको हो । समय अबेर भइसकेका कारण अन्तिम निर्णायक सेट खेलाउनुको सट्टा दुवै टीमको सहमतिमा उनीहरुलाई विजेता बनाइएको आयोजक ग्रीनवीच भलिबल परिवारका सचिव कृष्ण खरेलले जानकारी दिए ।
प्रतियोगिताको प्रथम पुरस्कार साढे १२ सय पाउन्ड र दोस्रो पुरस्कार ५ सय पाउन्ड पनि दुवै टीमले बांडेका छन् । विजेताको ट्रफीका लागि टस गराउँदा अल्डरसट भलिबल क्लबले हात पार्यो । ३ सय पाउन्ड नगदसहितको तेस्रो पुरस्कार भने आयोजक ग्रीनवीच भलिबल परिवार ए टीमले प्राप्त गर्यो । त्यस्तै, प्लेयर अफ द टुर्नामेन्ट मोना यूकेका खेम् भण्डारी, बेस्ट स्पाइकर ग्रीनवीच भलिबल परिवारका सञ्जय गुरुङ, बेस्ट लिफ्टर अल्डरसट भलिबल क्लबका स्वर्ग गुरुङ, इमर्जिङ प्लेयर फोक्सटन भलिबल क्लबका विजय तामाङ पुरस्कृत भए ।
विजेता टीम तथा खेलाडीहरुलाई प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, आयोजक ग्रीनवीच भलिबल परिवारका अध्यक्ष रविन्द्र रोका मगर लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा रेफ्रीको भूमिका नेपालका मान्यताप्राप्त राष्ट्रिय रेफ्रीद्वय जीवन गुरुङ र विनोद चन्दले निभाएका थिए ।त्यस्तै, कार्यक्रमको संचालन र लाइभ कमेन्ट्री विनोद ज्ञवालीले गरेका थिए ।
यसअघि प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट एक दर्जन टीमहरुले भाग लिएका थिए । लिग प्रणालीबाट खेलाइएको खेलमा हरेक टीमबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताका लागि विनोद ज्ञवाली, रोमनाथ पाण्डे, भोजराज कंडेल, जमघट परिवार लगायतले स्पोन्सर गरेका थिए । प्रतियोगिताका लागि विनोद ज्ञवाली, रोमनाथ पाण्डे, भोजराज कंडेल, जमघट परिवार लगायतले स्पोन्सर गरेका थिए ।
प्रतियोगिता सफल पार्न आयोजक ग्रीनवीच भलिबल परिवारका अध्यक्ष रविन्द्र रोका मगर, सचिव कृष्ण खरेल, सहसचिव कर्मा पहाडी शेर्पा, कोषाध्यक्ष राज कटुवाल,युवा संयोजक कुमार गुरुङ र अमर गुरुङ, सदस्यहरु वसन्त पौडेल, निराजन खड्का र चन्द्र पुन, संरक्षकत्रय विनोद ज्ञवाली, कमल राना र खड्क रेश्मीसहित खटिएका थिए ।






