नगेन्द्रराज नेम्वाङ्ग
अल्डरसट । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिसेक्पा तङ्नाम’ कार्यक्रमलाई सफलता गराउन आवश्यक तयारी बैठक बसेको छ ।
गत आइतबार २४ जुनका दिन अल्डरसटस्थित एम्पायर हलमा बसेको बैठकले आगामी १४ जुलाईका दिन फेल्थाममा मनाउन लागेको ‘सिसेक्पा तङ्नाम’ लाई भव्य रुपमा मनाउने निर्णय गरेको कियाचुले जनाएको छ । साथै बैठकमा चुम्लुङ्गका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ्गले कार्यक्रमको रुपरेखा प्रस्तुत् गरेका थिए । तङ्गनाममा यालाङ्ग (धाननाच) र के लाङ्ग (च्याब्रुङ्ग नाच) प्रतियोगिता समेत गरिने भएको छ । त्यस्तै, उत्कृष्ट लिम्बू पोशाकधारीलाई समेत पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रत्येक शाखाबाट च्याबु्रङ्ग, अन्य नृत्य र गीत प्रस्तुत् गर्न आउने कलाकारहरुलाई निःशुल्क प्रवेश गराउने निर्णय गरेको कियाचुले जनाएको छ ।
बैठक सँगसँगै कियाचु युकेले खरिद गर्न लागेको चुम्लुङ्ग देन सहयोगार्थ अर्थ संकलन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र कियाचु युकेका अध्यक्ष दिलसिं मेन्याङ्बोले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
बेलायतमा रहेका लिम्बूहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कियाचु युकेका सहअध्यक्ष एवं कार्यक्रम संयोजक तिलविक्रम सम्बाहाङ्फेले स्वास्थ्य र सुरक्षाको बारेमा सचेत गराउँदै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा लिम्बू समुदायमा प्रचलित सामानहरु चैनपुरे खुकुरी, तङ्गबा, तेह्रथुमे ढाका गलबन्दी, टोपीहरु, झोल र लिम्बू भाषामा लेखिएका किताबहरु लिलाम बढाबढ गरी सहयोग रकम संकलन गरिएको थियो ।
कियाचु युकेका उपाध्यक्ष नरवीर आङ्बो र आस्फोर्ड शाखा उपाध्यक्ष काजी साम्युले संयुक्त रुपमा सञ्चालन गरेको अर्थ संकलन कार्यक्रममा किरात राई यायोक्खाका उपाध्यक्ष मेजर योगेश राई र प्रमुख अतिथि योगकुमार फगामीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा एलिना इङसम लिम्बू, प्रियादर्शी लिङ्गथेप लिम्बू, चन्द्रकला लिम्बूले विभिन्न लिम्बू तथा नेपाली गीतमा नृत्य प्रस्तुत् गरेका थिए भने गायक दिलीप बखिम, नितेश थाङ्गदेन पहिलो नेपाली तारा दीपक लिम्बू, नेपाली तारा उपविजेता तारा लक्सम, सिङ्गीन स्टार उपविजेता प्रनेश लिम्बू र गायिका इन्द्र पन्धाकले विभिन्न नेपाली गीत एवं लिम्बू गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार, किरात राई यायोक्खाका उपाध्यक्ष मेजर योगेश राई, संस्थाका सल्लाहकारहरु डम्बर सिंघक, श्रीप्रसाद साम्यु लिम्बू, नरकुमारी लिम्बू, बद्री योङया र शुभाषचन्द्र जबेगुलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको मध्यान्तरमा चुम्लुङदेन खरिद कार्यसमितिका अध्यक्ष मेजर चितराज चोङबाङ्ग लिम्बू र वेलफेयर अफिसर क्याप्टेन महेन्द्र लिम्बूले खरिद गर्न लागिएको चुम्लुङ्गदेनको कागजात रसम्बन्धित विषयहरु प्रस्तुत् गरेका थिए ।
दिलसिं मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न बैठक तथा रकम संकलन कार्यक्रमलाई महासचिव गणेश इजमले सञ्चालन गरेका थिए । सहसचिव सानु सुब्बाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।






