काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको होे । विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले हालसम्म पाँच लाख ५४ हजार ९९२ जनाको घटना अनलाइनमा राखिएको बताए ।
उनका अनुसार तीन लाख २४ हजार ८६१ हजार जन्मदर्ता, ६१ हजार २६५ बसाइँ–सराइ, एक लाख १२ हजार ६५९ विवाह दर्ता, एक हजार ९४८ सम्बन्धविच्छेद र ५४ हजार २९५ मृत्युका घटना अनलाइनमा दर्ता गरिएको छ ।
सात सय ५३ स्थानीय तहमा छ हजार ७४३ वडा कार्यालय रहेकामा अहिलेसम्म एक हजार ५८८ वडा कार्यालयले अनलाइनबाटै दर्ता गरिरहेका छन् । इन्जिनियर पौडेलले सबै वडा कार्यालयमा इन्टरनेटको पहुँच नपुगेकाले दर्ता प्रक्रिया सोचअनुसार हुन नसकेको बताए ।


