पोखरा । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।

तस्बिर सौजन्य : मणि सरब्जा तमु
बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन परिचालित छन् ।
निजी गाडीहरु भित्रीबाटोबाट चलेपनि सार्वजनिक सवारीहरु पूर्णतः ठप्प छन् । प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातिय संघ संस्थाहरु आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई नयाँशक्ति सहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समेत समर्थन गरेको छ । माग सुनुवाई नभए अनिश्चितकालीन बन्द गर्ने समितिको चेतावनी छ ।
बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरेको थियो ।



