पर्यटकको फर्जी रेस्क्यूमा ठगी

SHARE:

काठमाडौं । पर्यटन क्षेत्र नेपालका लागि सबैभन्दा आकर्षण र भरपर्दो आर्थिक मेरुदण्ड पनि हो । तर, यो क्षेत्रमा क्रियाशील केही व्यक्ति र कम्पनी भने पर्यटककै नाममा नक्कली कागजात बनाएर वर्षौदेखि लुटतन्त्र चलाइरहेको पर्दाफास भएको छ । खासमा पर्यटन क्षेत्रमा लुटतन्त्र मच्चाउनेहरु को को हुन् रु सबैको चासोको विषय बनेकै छ । यो लुटतन्त्र नरोक्ने हो भने पक्कै पनि देशको थप बेइज्जति मात्र होइन, पर्यटन क्षेत्र नै धरासायी हुने पक्कापक्की छ ।

पदमाग हुँदै नेपाल भ्रमणमा रहेका पर्यटकहरु हिमाली क्षेत्रमा पुग्छन् । भ्रमणका क्रममा पर्यटक बिरामी भए उद्दार गर्ने गरिन्छ । तर उद्दार गर्ने बहानामा अदृष्य सेटिङमा पर्यटकको बीमित रकमबाट असुल्ने धन्दा वर्षौदेखि जारी रहेको पर्दाफास भएको छ । राज्यको नीतिगत कमजोरीका कारण बीमा एजेन्ट, अस्पताल हेलीचार्टर कम्पनी ट्राभल एजेन्सीहरुले वर्षौदेखि कमाउ धन्दा चलाउँदै आएको रहस्य सार्वजनिक भएको छ ।

रेस्क्यूको नाममा रकम कसले असुले रु
नेपाल सबैको रोजाईको गन्तव्य भएपछि नेपाल आउने विदेशी पाहुनाको चाप बिस्तारै बढेको छ ।
पदयात्रा होस या हिमाल आरोहणमा भैपरी आउने दुघर्टना या अपरझट बिरामी भए तत्काल उद्दार गर्नुपर्ने हुन्छ । तर यही उद्दार गर्ने निहुमा अकुत पैसा असुल्ने धन्दा जारी छ वर्षौदेखि । उद्दार गर्ने नाउँमा फेक रेस्क्यू रिपोर्ट बनाएर पर्यटकले बीमा गरेको विदेशी बीमा असुल्ने धन्दा हुँदै आएको छ ।
पर्यटन क्षेत्रमा भएका यस्ता गलत कामले पर्यटन क्षेत्रमा धक्का लागेको स्वयं व्यवसायीहरुको प्रतिक्रिया छ । सरकारले रेस्क्यू सम्बन्धी कुनै मापदण्ड नबनाउनु र व्यवसायीले पनि यही छिद्रमा टेकेर जथाभावी रकम असुल्नु गम्भीर गल्ती भएको भएको पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाको भनाइ छ ।

बीमाको नाममा यसरी पैसा असुल्नेमा पर्यटन व्यवसायी, अस्पताल, बीमा कम्पनीका एजेन्ट, हेलिचार्टर कम्पनी, पर्यटन विभागका जिम्मेवाहरुको नै मुख्य भूमिका छ ।

यसैको सिलसिलामा हिमालय सोसियल जर्नर्ी नामको ट्राभल कम्पनीले यस्तै धन्दा गर्दै आएको सार्वजनिक भएको छ । यद्यपि यस्तो धन्दा अरु टुर एण्ड ट्राभल कम्पनीहरुले पनि नगरेका त होइनन् । तर हिमालय सोसियल जर्नीले सगरमाथा आधार शिविरबाट उद्दार गर्दा गरेको धन्दा बाहिर आएपछि उक्त कम्पनी विवादमा तानिएको हो ।

ट्राभल एजेन्सीहरुले हिमाल आरोहण र पदयात्रामा रहेका पर्यटकलाई झाडापखाला लाग्ने औषधि खुवाएर बिरामी बनाएका उदाहरण नभएका पनि होइनन् । जर्नीले अष्ट्रेलियन पर्यटकको नामको बीमा अस्वभाविक रुपमा असुलेपछि घटना बाहिरिएको थियो । अरोहण र पदयात्रामा पर्यटक बिरामी बनाउने र बिरामी भएको गलत सूचना प्रवाह गरी पैसा असुल्ने गरेका पनि छन् ।

रकम असुल्ने धन्दामा कुनै एउटा पर्यटन व्यवसायी मात्रको संलग्नताको कुरा भएन । अधिकांश व्यवसायीहरुको कमाउ धन्दा यही हुने गरेको स्रोतहरु बताउँछ । यही सिलसिलाको निरन्तरतामा हिमालय सोसियल जर्नी प्रतिनिधिमूलक कम्पनीका रुपमा देखिएको छ । पर्यटकलाई दवाव दिँदै नक्कली कागजात बनाउन लगाएर रकम असुलेको आरेप लागेका हिमालय सोसियल जर्नर्ी प्रालिका संचालक रामप्रसाद सापकोटा फेक रेस्क्यूमा आफ्नो कम्पनी पनि जिम्मेवार भएको स्वीकारेका छन् । तर फेक रेस्क्यु प्रकरणमा बीमा कम्पनीका एजेन्ट, अस्पतालका डक्टर हेलिचार्टरहरु पनि संलग्न भएको उनको कथन छ । राज्यले उद्दारको कुनै नीतिगत प्रबन्ध नगरेकै कारणले यस्तो चलखेलमा आफूपनि संलग्न भएको सापकोटाले स्वीकार गरेका छन् ।

फेक रेस्क्युको रकम कसरी असुल्छ रु
फेक रेस्क्युको नाममा ठगी गर्ने शैली पनि गज्जवकै छ । यतिसम्म कि जसरी हुन्छ पैसा कमाउने लालसाका कारण यस्तो धन्दा गरेको स्पष्ट देखिन्छ । अष्ट्रेलियन पर्यटक जेसिकालाई सगरमाथा आधार शिविरमा चिसोका कारण सामान्य रुघाखोकी लाग्यो । खोकी लागेपछि उनले गाइडसँग सल्लाह मागिन् । जेसिकाको समूहमा छजना पर्यटक थिए । उनीहरुलाई सामूहिक रुपमा हेलिकोप्टरबाट काठमाडौं फर्काइयो । तर जेसिकाको समूहलाई सगरमाथा आधार शिविर पठाउने ट्रेकिङ एजेन्सी हिमालय सोसल जर्नीले बीमा कम्पनीलाई इमेल लेख्यो, ‘जेसिकालाई एक्लै उद्धार गरिएको हो । अरुलाई पनि त्यसरी नै एक्लाएक्लै उद्धार गरिएकाले छुट्टाछुट्टै भुक्तानी दिनुपर्यो ।’ तर जेसिकाले भने अनुसार सबै एउटै हेलिकप्टरमा काठमाडौ फर्किएका थिए । तर हिमालय सोसियल जर्नीले एक्लाएक्लै उद्धारको विवरण देखाएर बीमा कम्पनीसँग ३५ लाख रुपैयाँ अर्थात ९३५ हजार अमेरिकी डलर० असुले ।

हजारौ जेसिकाहरु पर्यटन क्षेत्रलाई बदनाम गर्नेहरुको जालझेबाट प्रताडित छन् । यद्यपि सबै घटना बाहिर आउन नसकेको मात्रै हो । पर्यटन व्यवसायी, अस्पताल, गाइड, बीमा कम्पनी, पर्यटन विभागका कर्मचारीको मिलेमतोमा नै यस्तो धन्दा भइरहेको पाइएको छ । यस किमिसको ठगीले नेपालको पर्यटनबारे गलत सन्देश गएको भन्दै सुधारका लागि नीति ल्याउनपर्ने स्वयम पर्यटन व्यवसायीहरुको माग छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा ठगी रोक्नका लागि रेस्क्युसम्वन्धी स्पष्ट नीति बनाउनुपर्ने बताउँछन् ।

ठगी गर्ने काम स्वयम बीमा एजेन्टहरुको परामर्शमै ट्रेकिङ कम्पनीहरुले गर्ने गरेका छन् । हिमालयन जर्नीको प्रकरणमा पनि ट्रेकिङ एजेन्सी कम्पनीले बीमा कम्पनीसँग झुटो बोल्न सिकाएर पैसा असुल्ने मेलो मिलाएको थियो । यो प्रकरण गत वर्षमा भएको हो । पर्यटन माफियाको मिलेमतोमा यस्तो ठगी फस्टाउँदो छ। ट्रेकिङ एजेन्सी र तिनका गाइड, अस्पताल र तिनका डाक्टर एवं हेलिकोप्टर कम्पनीबीच साँठगाँठमा नभएर यस्तो कालो धन्दा हुन सक्दैन । यस्ता फेक धन्दा अत्याधिक बद्दो छ । अधिकांश ट्रेकिङ एजेन्सीहरू पछिल्लो समय पर्यटकबाट लिने ट्रेकिङ शुल्कभन्दा हेलिकोप्टर उद्धारबाट छिटो र धेरै कमाउन सकिन्छ भन्दै यस्तै नक्कली तानाबानामै तल्लीन रहने गरेको व्यवसायीहरुकै भनाइ छ । ठगी धन्दामा ठूलो गिरोह नै भएको फेक रेस्क्यू प्रकरणका आरोपित रामप्रसाद सापकोटा बताउँछन् ।

फर्जी गर्नेमाथि कारवाही होला रु
फर्जी कागजात बनाउने गरेकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेपछि जेठ २१ गते यो प्रकरणमा छानविन गर्न सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा एउटा कार्यदल बनाइसकेको छ । सो कार्यदलमा पर्यटन विभागका महानिर्देशक कोषनाथ अधिकारी, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक सुभाष झा, पर्यटन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्य रहेका छन् । कार्यदलले फर्जी उद्धारमा संलग्न कम्पनीहरु अल्पाइन रेस्क्यु, हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, युनिक एडभेन्चर, नेपाल इन्भारोमेन्टल ट्रेकिङ, नेपालभिजन ट्रेकिङ, हिमालय सिनरी, सेभेन समिट, लाइट कनेक्सन, हिमालयन रेक्स्यु, ग्रेट हिमालय, इजीहेलीबाट तीन वर्षयता भएका पर्यटक उद्धारका विवरण अध्ययन गरिरहेको छ । छानविनबारे अहिलेसम्म कुनै पनि प्रतिक्रिया आएको छैन ।
यो ठगी धन्दाबारे पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वास्थ्य बीमामा व्यवसायीले गरेको फटाइप्रति सरकार गम्भीर भएको भन्दै आवश्यक कानुनी कारवाही गर्ने बताउँदै आएका छन् । मन्त्री अधिकारीले भनेअनुसार नै कारवाही गरेर मात्र पनि व्यवसाय राम्रो नहुने व्यवसायीहरुको भनाइ छ । यस्ता ठगीका घटना दोहोरिन नदिनका लागि चनाखो बनाउनेतर्फ सरकार लाग्नुपर्ने एनएमएका अध्यक्ष लामाको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानले यो प्रकरण गम्भीर देखिएको छ । काठमाडौंका नाम चलेको ५—६ अस्पताल संलग्न पाइएका छन् । अहिलेसम्म हेलिकोप्टर सेवा प्रदायक वा ट्रेकिङ एजेन्सी कम्पनीले पर्यटक उद्धार गरेको तथ्यांक कुनै सरकारी निकायमा बुझाउनु पर्ने नियम छैन । पैसा तिरेपछि रत्नपार्कमा पाइने ट्याक्सीजस्तै हेलिकोप्टर जता मन लाग्यो उतै उडाउन र उड्न पाइरहेका छन् । कतै कसैका लेखाजोखा नै छैन । उड्न र उडाउन लागि कतैबाट पूर्वअनुमति लिनु पर्दैन, उडेको रेकर्ड देखाउनु पनि पर्दैन । यही कारण हो, छानविन गरिरहेको पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणमार्फत हेलिकोप्टर कम्पनीसँग दुई दिनभित्र उद्धारको विवरण माग गर्दा त्यो उपलब्ध हुन सकेन ।

हिमाली उद्धार लेकलाग्ने समस्यासँग सम्बन्धित विषय हो । उचाईमा जाँदा उच्च रक्तचाप र अक्सिजन अभावका कारण स्वास्थ्यमा समस्या देखिनसक्छ । रिंगटा लाग्ने, टाउको दुख्ने, खान मन नलाग्ने, बान्ता हुने हुन्छ । यसको उपचार भनेको उचाईबाट तत्काल तल झर्नु हो । स्वास्थ्यमा आउने यही परिवर्तनमा त्रास फैलाएर पर्यटन व्यवसायीले हिमाली पर्यटन बद्नाम गराउनेगरी कालोधन्दा चलाइरहेका हुन् । केही सीमित व्यवसायीको निहित स्वार्थमा भएको यस्ता धन्दा नेपालको पर्यटनमा धब्बा लागेको व्यवसायीहरुको गुनासो छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!