नेपाली साहित्य विकास परिषद् यूकेद्वारा २०९औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रम सम्पन्न

SHARE:

कोमल मल्ल
लन्डन १२ जुलाई २०२२ । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद् यूकेले २०९औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ ।

वेस्ट लन्डन, एक्टनस्थित एबिआइ कलेजमा आयोजित समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्दै प्रमुख परिषद्का पदेन संरक्षक बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेको बताए । आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तनतर्फ उन्मुख गराउने सर्जकहरूको सम्मान गर्न पाउँदा खुसी लागेको भन्दै राजदूत आचार्यले डा. सुधा श्रेष्ठको पुस्तक थेम्स नदीका दुई किनारामा समेटिएका कविताहरूले पनि सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

समारोहमा सम्मान अभिनन्दन ग्रहण गर्दै विशिष्ट अतिथि वरिष्ठ चलचित्र निर्देशक तथा संगीतकार किरण प्रधानले बेलायतको माटोमा आफूले पहिलो नेपाली चलचित्र कस्तुरी बनाउँदाको अनुभूतिहरू सुनाउँदै परिषद्का संरक्षक राजदूतबाट सम्मानित हुन पाउँदा आफूलाई हर्षानुभूति भएको बताए । उनले यसरी कला, साहित्य, सङ्गीत क्षेत्रमा लागेका सर्जकहरूसलाई एक ठाउँमा भेला गरेर उनीहरूले गरेका कामहरूको हेक्का राखेर कदर गर्नु भनेको समाजमा ठूलो प्रेरणा जगाउनु हो, जुन कार्य गरेर नेपाली साहित्य विकास परिषद् यूकेले बेलायती माटोमा नेपाली पहिचान फलाउने फूलाउने सराहनीय काम गरेको भन्दै प्रशंसा गरे ।

समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्दै परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले त्यसबेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए त्यो आफैमा एक साहसिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे ।

समारोहमा विमोचित पुस्तक थेम्स नदीका दुई किनारा कवितासङ्ग्रहको समीक्षा गर्दै वरिष्ठ साहित्यकार शाहले जीवन र जगतको अन्तरसम्बन्ध र संवेदनशीलताको प्रसङ्ग कवयित्री डा.सुधा श्रेष्ठले आफ्ना कविताहरूमा मार्मिकरूपले उठाएकी छन् भने ।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानुजयन्ती मनाउँदै आएको उल्लेख गर्दै नेपाली पहिचान युग युगसम्म जिवन्त राख्न भाषा, साहित्य, संस्कृति चिनारीहरू जोगाउँदै लैजानु पर्ने औचित्यतर्फ प्रकाश पारे ।

यसअघि समारोहमा विमोचित आफ्नो पुस्तक थेम्स नदीका दुई किनाराबारे बोल्दै लेखक परिषद्की उपाध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठले यस पुस्तकमा सङ्ग्रहित आफ्ना कविताहरू जीवन र जगतको अन्तरघुलनमा नयाँ सोच र प्रेरणाको जागरण हुनु पर्ने र आज देशले भोक्न परेका विकृत राजनीतिबाट उब्जनी भएका पीडाहरूबाट उन्मुक्ति खोजेका छन् भनिन् ।

आरम्भमा कार्यक्रमको सञ्चालन गर्दै परिषद्का महासचिव वीरेन्द्र कुँवरले नेपाली साहित्यका सर्जक र सिर्जनाहरू उम्रने खेती बेलायती माटोमा विगत साढे दुई दशकभन्दा बढी समयदेखि परिषद्‍ले गर्दै आएको चर्चा गरे । उनले बेलायतमा साहित्यिक माहोलको सुरूवात गरेर नेपाली साहित्य विकास परिषद्ले एउटा संवेदनशील अगुवाई गरेको इतिहासको चर्चा गरे ।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण र राष्ट्रियगानबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गरेका थिए ।

समारोहमा परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल र उपाध्यक्ष डा. सुधा श्रेष्ठले परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यमा स्वागत सम्मान अभिनन्दन पत्र र पुष्पगुच्छाद्वारा सम्मान अर्पण गरिएको थियो । उक्त अवसरमा उपनियोग प्रमुख रोशन खनाललाई पनि पुष्पगुच्छाद्वारा सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत आचार्यले हाल बेलायतको भ्रमणमा रहेका नेपालका वरिष्ठ चलचित्र निर्देशक, लेखक, सङ्गीतकार, गायक डा.किरण प्रधानलाई उनले चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्य, गीतसङ्गीत, कला चलचित्र आदिक्षेत्रमा पुर्‍याएको प्रशंसनीय योगदानको कदर गर्दै नेपाली साहित्य विकास परिषद् यूकेद्वारा अर्पण गरिएको विशिष्ट सम्मान अभिनन्दन पत्रद्वारा सम्मान शुसोभन गरेका थिए ।

यसैगरी राजदूत आचार्यले विगत साढे दुई दशकभन्दा बढी समयदेखि बेलायतमा नेपाली साहित्यको समृद्धिमा निरन्तर योगदान पुर्‍याउँदै आएकी सर्जक परिषद्की आजीवन सदस्य वरिष्ठ कवयित्री हिन्दमैञा वैद्यलाई एनएलडिसी नेपाली साहित्य पुरस्कार र गीत सङ्गीत क्षेत्रमा निरन्तररूपमा लागी परेर नेपाली साहित्य र गीतसङ्गीतको समृद्धिमा प्रशंसनीय योगदान पुर्‍याउँदै आएका वरिष्ठ कलाकार गायक प्रमोद शर्मालाई एनएलडिसी साहित्य कला पुरस्कार र साथै एनएलडिसी साहित्य सम्मान रजत वर्ष अभिनन्दनपत्र पुरस्कार सम्मान बेलायतमा लामो समयदेखि सिर्जना र संस्थागत क्रियशिलताबाट नेपाली भाषा साहित्यको समृद्धिमा लागी परेका परिषद्का सल्लाहकार कवि कृष्ण भट्ट, अन्तर्राष्ट्रिय साहित्य समाजकी पूर्वअध्यक्ष कवयित्री साहित्यकार लक्ष्मी राई (लारा राई), विश्व नेपाली साहित्य महासंघका पूर्वमहासचिव कवि साहित्यकार केदार सङ्केत आदि सर्जकहरूलाई प्रदान गरेका थिए ।

पुरस्कार सम्मान वितरण कार्यक्रमपछि प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथि वरिष्ठ निर्देशक, सङ्गीतकार गायक किरण प्रधान, परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल, महासचिव वीरेन्द्र कुँवर र स्वयम् लेखिकाका साथमा परिषद्की उपाध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठद्वारा लेखित थेम्स नदीका दुई किनारा कवितासङ्ग्रह पुस्तकविमोचन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!