काठमाडौं अक्टोबर ३१ ।

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
काठमाडौंको एक होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध सोमबार उक्त मुद्दा दायर गरिएको हो । उक्त मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।
प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । बयानको क्रममा उनले आफूले बलात्कार नगरेको बताएका छन् । लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ ।
पीडित किशोरीले प्रहरीकहाँ उजुरी दिएपछि प्रहरीले उनलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।






