जिप दुर्घटनामा पत्रकार उजिर मगरसहित १४ घाइते, मगरको उपचार मेडिसिटीमा

SHARE:

बागलुङ । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जिप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जिप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताए ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा बडीगाड गाउँपालिका–५ कि संगीता पुन, वडा नं ९ का दिलेन्द्र बुढामगर, गलकोट नगरपालिका–१० का दीपक पुन र नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर छन् । गम्भीर घाइतेसहित अन्य चारजना घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ । पत्रकार मगरलाई भने बिहीबार बिहानै ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ । उनी खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

घाइतेमध्ये म्याग्दीको बेनी नगरपालिका–३ कि तिर्सना छन्त्याल, सोही ठाउँकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढामगर, काठेखोला गाउँपालिका–३ धम्जाका टीकाराम नेपालीलाई पनि थप उपचारको लागि पोखरा पठाइएको हो । दुर्घटनाका घाइते निसीखोला गाउँपालिका–४ का मकर थापा, नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, वडा नं ६ का लोकबहादुर खत्री, ढोरपाटन नगरपालिका–९ कि मञ्जु कार्की र उनकी छोरी रञ्जिता कार्कीको गलकोट नगरपालिका–३ स्थित आरोग्य अस्पतालमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हुनसक्ने प्राररम्भिक अनुमान गरिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!