काठमाडौं । आदिवासी जनजाति अगुवाहरुले प्रदेश ३ लाई नेवा -ताम्सालिङ नामकरण गराउन तत्काल आन्दोलनमा जानु पर्ने बताएका छन् ।
नेपाल तामाङ घेदुङ र नेवा देय दबूले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नेवा: ताम्सालिङ प्रदेश नामकरणको सवाल र आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम’ का वक्ताहरुले पहिचानको आधारमा प्रदेश ३ को नामकरणको लागि आन्दोलनमा जानुको विकल्प नभएकोमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) नेता सीताराम तामाङले २४ औं विश्व आदिवासी दिवसको अवसरमै आन्दोलनको सुरुआत हुनुपर्ने बताए । उनले आफूहरुको ऐतिहासक, भाषा संस्कृति र बस्तोको पहिचान माग्दा नदिने खेल भइरहेको भन्दै सत्तामा बसेकाको दाह्र भत्काउने गरी आन्दोलन गर्नु पर्ने बताए ।
कोठा र हलमा भाषण गरेर नेवास् ताम्सालिका नेता, कार्यकर्तासहित जनता सबै गोलबन्द भइ संघर्षको विकल्प नभएको भन्दै उनले सांस्कृतिक कार्यक्रम भन्दा पनि दिवसलाई कडा आन्दोलनको रुपमा मनाउन आग्रह गरे । देव गुरुङ, रामबहादुर थापा बादललगायत पदको पछि लागेको भए पनि क्रान्तिकारी माओवादी पहिचानवादीको पक्षमा सँगै लड्ने उनले आश्वासन दिए । आफू सहिद हुन तयार रहेको र आदिवासी जनजाति मुद्दा नछाड्ने उनको भनाइ थियो । बाहुन( क्षेत्री र मधेसी दलितले अधिकार पाए पनि अहिलेको संविधानमार्फत जनजातिलाई पाखा लगाइएको नेता तामाङले टिप्पणी गरे ।
नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले पार्टीको अंकुशमा नरही आफ्नो समुदाय र वर्गका लागि फिल्डमा उत्रने बेला आएको बताए । उनले आफू सशक्त आन्दोलनका लागि तयार रहेको भन्दै पार्टीको कारबाही पनि सहने बताए । उनले आदिवासी जनजातिका मुद्दा सेलाउँदै गएकोले अब ग्राउन्डमा भिड्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य हितबहादुर तामाङ, संघीय समाजवादी फोरमका नेता लालबहादुर तामाङ, जनजाति महासंघका अध्यक्ष जगत बरामलगायतले आन्दोलन चर्काउनु पर्ने बताए ।
तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले मुलुकलाई फेरि पञ्चायतकालीन अवस्थामा पुर्याउन लागिएको भन्दै आदिवासी जनजाति समुदाय डेन्जर जोनमा रहेको टिप्पणी गरे । उनले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान खारेजको तयारी, राष्ट्रिय पर्वमा बिदा, समानुपातिक समावेशी कटौती, लुम्बिनी विकास कोषमा गैर बौद्धिस्टको नियुक्ति गरेर आदिवासी जनजातिको प्राप्त उपलब्धी खोसिएको बताए । उनले नेवा: ताम्सालिङ प्रदेशको नामकरण एक सुत्रीय माग रहेको भन्दै त्यसलाई स्थापित गराउन गतिलो आन्दोलनमा जानुपर्ने बताए ।






