
लन्डन २४ जून २०२३ । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही बेलायतमा आइपुगेका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी जुलाई १ मा रुसमूर सेन्ट्स एफसी अल्डरसटमा हुने ‘पाँचौं मोना भलिबल प्रतियोगिता–२०२३’ सहभागी हुन बानियाँ बिहीबार लन्डन ओर्लिएका हुन् । बानियाँ र कप्तान शाहीलाई आयोजक संस्थाका पदाधिकारीहरुले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने प्रतियोगितामा पुरुष, महिला, भेटेरान्स इभेन्टमा हुनेछ । तीमध्ये पुरुषतर्फ विजेताले १७ सय र उपविजेताले ११ सय, महिलातर्फ विजेताले ११ सय र उपविजेताले ६ सय पाउण्ड पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, भेरेरान्सतर्फ विजेताले १ हजार र उपविजेताले ६ सय प्राप्त गर्ने छन् । सो अवसरमा हुने छेलो प्रतियोगितामा विजेतालाई १ सय ५० पुरस्कार दिइनेछ ।
मोना यूकेको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष मोना भलिबल प्रतियोगिता हुँदै आएको छ । कार्यक्रमका लागि विभिन्न पुरस्कार प्रायोजन जारी रहेको आयोजकले जनाएको छ । एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीले महिला प्रथम पुरस्कारका लागि ११ पाउन्ड, वाटरमिलन मोर्गेजबाट किरण गुरुङले दोस्रो पुरस्कारका लागि ६०० पाउन्ड, एनआरएनए यूके ३०० पाउन्ड, अर्जुन पुनबाट २० जर्सी, गोर्खा फोर्स १२ जर्सी, प्रविन राना १० जर्सी, वर्ल्ड रेमिटका कमल गुरुङ र दिलरास गुरुङबाट भेटेरान्सका प्रथम पुरस्कार १ हजार पाउन्ड प्रायोजन गरिने पक्का भएको मोना यूकेले जनाएको छ ।






