
गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अर्को कार्यकाल २०२३-२०२५ को लागि पुन: अध्यक्षको लागि उमेद्वारी दिने घोषणा गर्दै निर्वाचनमा मतदान गरेर सहयोग गर्न अपिल गरेका छन।
आदरणीय बेलायतवासी नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा सादार प्रणाम।
विषय: अस्तित्वको लडाईं र वंशजको नेपाली नागरिकता निरन्तरता: आजको आवश्यकता, का लागि पुनः मेरो उम्मेदवारीः
महोदय:
मलाई झण्डै दुई वर्ष अघि गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षका रुपमा समाजको सेवा गर्ने मौका दिनु भएकोमा हजुर लगाएत हजुरको सस्थाका सबै सदस्यहरुलाई हृदयदेखि नमन गर्दछु ।
भ्रष्टहरुलाई निर्मुल पारेर संस्थामा शुद्धीकरण गर्ने मेरो जुन एजेन्डा थियो त्यो अझै पुरा हुन सकेको छैन ।
एनआरएनए केन्द्रको उक्साहटमा पद र आफ्नो स्वार्थकै लागि मलाई विचलित र अवरोध गर्ने काम भयो । बेलायतमा एक ढिक्का रहेको नेपाली समाज भताभुंग पारियो । परिस्थिति प्रतिकुल बनेपछि संस्थामा जे गर्छु भनेर शपथ खाएको थिएं, ति सबै अठोट पुरा हुन सकेनन् ।
तैपनि अनेक तिकडम, जालझेल, षडयन्त्र र स्वार्थ प्रवृत्तिलाई चुनौति दिंदै मैले २१ महिनामा ४६ वटा प्रमुख काम गरेछु (तल लिंक हेर्नुहोला) । चुनौतिका अनेक पहाडले घेरिंदा पनि मैले आफ्नो गन्तव्यमा पाइला चाल्न छोडिन । बेलायतवासी तपाईंहरु सबैको साथ, सहयोग र प्रेरणाले अगाडि बढ्न झन् उर्जा मिल्यो । म अझै कत्ति विचलित भएको छैन् ।
बरु, बेलायतस्थित सयौं संघसंस्था, व्यक्ति र अग्रज अभियन्ताहरुको साथ, सहयोग र रचनात्मक सुझावले म एकपटक फेरि नेतृत्वमा आउन लालयित भएको छु । एनआरएनए यूकेको २०२३–०२५ कार्यकालका लागि म पुनः अध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको सहर्ष अवगत गराउन चाहन्छु ।
मेरो यो उम्मेदवारी अस्तित्वको लडाईंसंग सम्बन्धित त छ नै, अध्यक्षको जिम्मेवारी पाए संघको शुद्धीकरण र वंशजको नेपाली नागरिकता निरन्तरता अभियानमा म लडेर लाग्नेछु भन्ने प्रतिवद्धता पनि यही व्यक्त गर्न चाहन्छु ।
बेलायतमा रहेका हजारौं भूतपूर्व गोर्खाहरुमाथि भइरहेको अन्याय र असमानताविरुद्ध एक साथ रहने प्रण पनि म गर्दछु । नेपालले वंशजको नागरिकता र बेलायतले समान पेन्सन नदिएर गोर्खाहरुमाथि भएको अन्यायको विरोधमा म खुलेरै लाग्नेछु ।
तपाईंहरुबाट विगत जस्तै यसपटक पनि सहयोग सुझावको अपेक्षा गर्दछु । मलाई आशा छ, यहांहरुले मलाई निराश बनाउनु हुने छैन् । यहांहरुमध्ये कोही संस्थाको जिम्मेवारी लिन इच्छुक हुनुहुन्छ भनेपनि म सहयोग र सहकार्य गर्न तयार छु ।
मैले २१ महिनामा ४६ वटा गरेका प्रमुख कामहरु तलको लिंकमा हेरेर मूल्यांकन गर्नुहोस्ः
https://youtu.be/hku918W88sU
एनआरएनए यूकेको सदस्यता नवीकरण वा नयाँ बन्न निम्न लिंक क्लिक गर्नुहोलाः
https://members.nrnauk.org/
सहयोगका लागि धन्यवाद
प्रेम गाहा मगर,
अध्यक्ष उम्मेदवार
२०२३-२५
गैर आवासीय नेपाली संघ बेलायत,






