
यो गरौंला त्यो गरौंला, परदेशमा आएर जिन्दगी अद्भूत सफल बनाउँला, पहिले आफू र परिवारलाई बनाउँला, त्यसपछि समाज, समुदाय अनि देशको नै फड्को मारौंला भन्ने सपनाहरु देश छोडेर परदेश लाग्ने हरेकको हुन्छ । सबै सपनाहरु पूरा हुँदैन त कति कहिल्यै कल्पनै नगरेका कुराहरुले सफलता हात लाग्छ । तर यी यावत कुराहरुका उतारचढाबहरु भोग्ने स्वयं परदेशीका आ-आफ्नै कथाव्यथाहरु हुन्छन् । सबै भोगाईहरु रमाइला र सुखदायक हुन्छन् भन्ने छैन । कयौं अनुभवहरु फेरि गर्न नपरे हुन्थ्यो भन्ने हुन्छन् ।
मान्छे सामाजिक प्राणी हो र यसले संभव भएसम्म आफूलाई समाजमा अब्बल दर्जामा राख्न र अरुले सफल भएको देखिन या देखाउन चाहन्छ, उसलाई अरुले चिनुन र कहीं न कहीं मूल्यांकन गरुन् भन्ने चाहन्छ । यसको लागि उसले हरप्रयास गरेको हुन्छ ।
परदेशको बसाई, पारिवारिक संरचना नेपालमा बस्दाको जस्तो पक्कै हुँदैन, छोराछोरीले जागिर गरे भन्दैमा महिनाको अन्तिममा तलब बुझेर अभिभावकलाई बुझाउने त कुरै भएन । त्यसमाथि बाआमाको सन्तानप्रतिको मायाको आफ्नै भूमिका छ । सन्तानहरुबाट आशा गर्नु पनि एक प्रकारले राम्रो मानिँदैन ।
एकजना रिटायर्ड दाइसँग कफीगफमा गनथन भयो, हैन हामी अलिकति रेगुलर पेन्सन हुनेहरुलाई त स्यापस्याप पर्छ महिना धान्न यार ! तिमीहरुले कसरी चलाउँछौ यार विक्रम…? मैले केवल ‘पीडा छ दाइ…पीडा…!’ भनेर टारेँ । तर वास्तवमै यसबारेमा सोच्दा विषय दैनन्दिन जटिल बन्दै गएको छ ।
बेलायतमा मात्रै हैन संसारमै महँगाई आकाशिएको छ। महँगाईमा भएको वृद्धदरका हिसाबले तलबमा आधा पनि बढेको छैन, रहरहरु दायित्वहरु एकपछि अर्को गर्दै थपिएका थपिएकै छन् । दुई दशकभन्दा धेरै सबैसँग घुलमिल भएर बसेको समाजमा सम्बन्धहरुका रुपहरु पनि फेरिँदै जाने रहेछन्, कति अझै गाढा हुनेरहेछन् भने कति कर्तव्य निभाउन पर्नेमा परिणत हुने रहेछन् । कति त बिनाकारण घनिष्टबाट ‘बाटोमा भेटियो बाटोमै छुट्टियो’मा पुग्ने रहेछ । त्यसमाथि उमेरका हिसाबले सम्बन्धहरु, व्यावसायिक सम्बन्धहरु, सामाजिक सम्बन्धहरु गाउँले सम्बन्धहरु, पारिवारिक सम्बन्धहरु सबैका आफ्नै स्थान हुन्छन् सबैलाई उस्तै प्रकारले ‘मेन्टैन’ गर्न पर्ने रहेछ ।
यिनै सबै सम्बन्धहरुका कारण समाजमा आफूलाई “म छु है” भन्ने भाव राखिरहन पनि आम्दानीको ठूलो भूमिका हुन्छ । वर्षमा कमसेकम १५ वटा विवाहमा समावेश हुनपर्यो भने एउटा विवाहमा दम्पती गएर खाइपिइ गरेपछि ६० पाउन्डका दरले पनि ९०० चैट हुन्छ, त्यस्तै जन्मदिनका चटारो उस्तै छ । झन् हाम्रा समकालीन साथीहरुको ५० औं जन्मदिनको लहर नै चलेको छ, नजाऔं तँ आफू पनि एकपटक ‘पचास’ पक्कै पुगिन्छ भन्ने लाग्ने । जाँऊ… कुरो उही हो…। आफ्नो उमेरसँगै साथीभाइका सन्तानका विवाह, व्रतबन्ध, गुन्यूचोलो, पास्नी, अझै छुटाउनै नहुने मलामी (फ्युनरल) त छँदैछ । यी हरेक छुट्टाछुट्टै समारोहहरु एउटा ज़िम्मेवार व्यक्तिका लागि सकेसम्म छुटाउनै नहुने हुन्छ ।
अनि यता सामाजिक संघ संस्थाका समारोहहरुका आफ्नै कथाहरु छन्, धार्मिक, राजनैतिक अनि सामाजिक आस्थाका झुण्डहरु सबै उस्तै हुन्छन् । कति त आफैंले चाहिन्छ भनेर बनाएका छन् । तिनीहरुलाई दिनुपर्ने समय र दान दक्षिणाको अर्को पहाड छ । तपाईं कुनै पनि सभा समारोहहरुमा निरन्तर केही समय नजानु भयो भने तपाईं सामाजिक व्यक्तित्वहरुको लिस्टबाट ‘गायब’ हुनुहुन्छ । अझै गाउँले समाज, ससुराली समाज, पल्टनेहरुका लागि अझै कहालीलाग्दै छ । पल्टनको वार्षिक भेला रे, नम्बरी पार्टी, इन्टेक रे, बटालियन रे…। अझै कताकता त अफिसरहरुको पनि भेला रे…।
एउटा मान्छे कहाँ-कहाँ पुग्नु…। गाउँले भेला नजाऔं त सबैभन्दा माया गर्ने मान्छेहरु त्यहीं भेटिन्छ, ससुराली समाज त के कुरा गरौं । ‘गृहमन्त्री’लाई माइतीगाउँको पार्टीमा नजाऔं कसरी भन्नु…। कुन्नी कताको कुकुर पनि प्यारो हुन्छ भन्छन्…। अनि जन्मेकै ठाउँबाट घरबार छोडेर परदेशी बनेको साथीले पहिलो घर किन्दा खुशी साटासाट गर्नको लागि केही उपहारसहित भेट्नु सामान्य र व्यवहारिक नै हो तर हरेक वर्ष, दुई वर्षमा घर थप्नेहरुलाई पनि महँगा महँगा गिफ्टसहित सामाजिक संजालमा फोटो पोस्टाएपछि आफू छुट्टिन्छ कि भन्ने अर्को पीर…।
साथीको जागिरमा पदोन्नति भयो कसरी खुशीयालीमा ‘चियर्स’ नगर्नु, कति घनिष्टहरुका छोराछोरी डाक्टर, ईन्जिनियर बने बधाई फेसबुकमा मात्रै भनेर पनि नहुने हुन्छन् । एकजना दाइले भन्दै हुनुहुन्थ्यो ‘भाउजुले कुन्नी कति पौउन्ड हालेर कुनचाहिँ टिकटकेसँगबाट सारी किनेर पार्टीमा जानको लागि तयारी गर्दै थिइन् । ठ्याक्कै अघिल्लो विकेण्डमा उनैकी नम्बर्नीले त्यस्तै सारी लगाएर ईन्स्टामा पोस्टाईछन् अब भाउजुलाई नयाँ सारी चाहियो रे…’ भएन अब…! पीडा छ हजुर पीडा ।
अब बेलाबेलामा साथीभाइहरुले सामाजिक संजालमा फलानो ठाउँमा सयर गर्दै भनेर कहिले समुद्री किनारमा कट्टु लगाएर बियर पिएको त कहिले एयरपोर्टमा आफू उड्ने पिलेनलाई ब्याकग्राउण्डमा राखेर ‘Flying to……..’ भन्दै खिचेका तस्बिर पोस्टाउने पोस्टहरुले आर्थिक अवस्था जस्तो भए पनि ‘विजाकार्डको के काम तनी यस्तै बेलामा त हो नि काम लाग्ने…’ भन्ने धाक लगाउन मन लाग्छ । अनि कनिकुथी हिँड्यो वर्षभरि त्यसको ढाढ सेकाउने ब्याज तिर्दाको अमिलो छुट्टै छ ।
यी माथीका सबै विषयहरु त व्यक्तिगत मनोरन्जनका लागि भए । अब सामाजिक दायित्वअन्तर्गत पर्ने थुप्रै कुराहरु छन् जसलाई ईग्नोर गर्नै सकिन्न । च्यारिटी साँझका कथाहरु पनि कम हुँदैनन् । उद्देश्य सुन्दा आउन सक्दिनँ या पाउदिनँ कसरी भन्नु । तर एकै साँझमा दुई/तीनवटा च्यारिटी साँझ, टिकट पनि थोरै भनेको ५० पाउन्ड रे । त्यसमाथि नेपालबाट बोलाइएका ‘चर्चित’ कलाकारहरुले जिन्दगीमा ढाका टोपी नलगाए पनि स्टेजमा उक्लेपछि टाउकामा टोपी या फेटा बाँधेर पैसोको नाङ्लो थाप्छन् अनि त्यसै समूहबाट एक/दुई जना स्थानीय ‘कमिसन’ नै हात लाग्नेजस्तै गरेर सबैलाई तानेर नचाउँदै कलाकारको टाउकोमा पैसो टँसाउन मरिहत्ते गर्छन्…। अनि पार्टीबाट निस्केर घर पुग्दा हिसाबले नेटो काटेको हुन्छ ।
अझै म जस्तो हाम्रो स्थानीय शिव मन्दिर बनाउने क्रममा सयौं साथीभाइहरुलाई गुहारेको मनुवाको भिन्नै समस्या छ, ती जो जसले मन्दिरमा सहयोग गर्नुभएको छ विचरा उहाँहरुलाई कहीं न कहीं मैले पनि एकदिन योसँग सहयोग माग्न पाउने छु भन्नु स्वाभाविक नै हो तर … पीडा छ पीड़ा…!
अनि उता नेपालमा बसेर सामाजिक अभियन्ताको भूमिका निभाइरहेकाहरुलाई फेरि हामीजस्तै ‘हल्लाखोर’ हरुको बारेमा सबै जानकारी हुने रहेछ अनि कहीं कुनै अप्रिय र दुःखद् कुराहरु भेटे कि फोटो खिचेर म्यासेजमा तारम्तार पठाउन सुरु गर्छन् अनि मनै त हो नि …।
यी माथीका सबै विषयहरु सबै परदेशीलाई लागू नहुन सक्छ, कतिलाई यी कुनै पनि विषयले छुँदैन, कतिलाई यी सबै बकम्फुसे लाग्छन्, कतिपय यी यावत खर्चपर्च सहजै बेहोर्न सक्छन् तर अधिकांश मध्यम वर्गीय कामकाजीहरुलाई कुनै न कुनै हिसाबले सताएको हुन्छ । तर हाम्रो समाज यस्ता विकृतिहरुलाई न्युनिकरण या निरुत्साहित गर्नुको सट्टा अझै समर्थन या आफैंले प्रोत्साहित गरेको देखिन्छ । यी यावत कुराहरु खासै उपयोगी पनि छैनन् र यस्ता प्रवृत्तिले समाजलाई अझै सकस बनाएको देखिन्छ ।
लेखक भट्टराईको फेसबुक वालबाट साभार






