काठमाडौं १८ नोभेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत भएको बताएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका पुगेर खुम्बुको व्यवस्थित पर्यटन विकास सँगै सगरमाथाको सुरक्षा र सफाइबारे व्यवस्थित कार्यविधि बनाउन आफू लाग्नेसमेत उनको भनाइ रहेको छ । खुम्बु क्षेत्रले नेपाली पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको उनले बताए ।
शनिबार बिहान कालापत्थरमा भएको कार्यक्रममा सहभागी हुन खुम्बु पासाङ ल्यामु गाउँपालिका पुगेका उनले सगरमाथाको सुरक्षा र स्वच्छताको लागि अझ व्यवस्थित कार्यविधि निर्माणमा ध्यान दिने आश्वासन दिए । उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले यो क्षेत्रमा तपाइँहरूसँग यो कार्यक्रम गरिसकेपछि काठमाडौं पुगेपछि खुम्बु क्षेत्रको विकासको निम्ति कसरी योजना बनाउने र यहाँको पर्यटनलाई अझ व्यवस्थित बनाउन सगरमाथाको सुरक्षासँगै सफाईपनि व्यवस्थित बनाउन कार्यविधि कसरी बनाउने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्ने विश्वास म तपाइँहरूलाई दिलाउन चाहन्छु ।’
‘खुम्बु क्षेत्रले नेपालको प्रतिष्ठाको निम्ति विश्वव्यापी रूपमा जुन महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपालको पर्यटन विकासमा पनि यो एउटा कहिल्यै नटुङ्गिने हामीसँग भएको अनन्त स्रोत हो सगरमाथा’ दाहालले भने । कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले दाहाललाई तीन बुँदे ज्ञापन पत्र बुझाए ।
उक्त पत्रमा खुम्बु क्षेत्रमा यातायातको सहज पहुँचको लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक खोलेको जानकारी गराउँदै सगरमाथा क्षेत्र जोड्ने चतरादेखि लुक्लासम्मको उक्त सडकको स्तरोन्नति योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गर्न स्थानीयले माग गरेका छन् ।






