
सरुभक्त श्रेष्ठ – नेपाल
यानीमाया पश्चिम नेपाल, विशेष गरी गण्डकप्रदेशमा सदियौंदेखि चलिआएको एक प्रसिद्ध लोकभाका हो । विशेष गरी नेपालको एक प्रसिद्ध जनजाति मगर समुदायमा यो भाका लोकप्रिय रहेको छ । यानीमाया लोकभाका हो तर यसलाई गायन गर्ने शैली अनेक छन् । यस भाकामा ग्रामीण जीवनका कथाव्यथाहरू अभिव्यक्त हुने गर्छन् ।
लोकगीतको खानी मानिने म्याग्दीका स्रष्टा जीत बुढाथोकी छन्त्यालको यस लोकशब्द यानीमायालाई सुरुचिपूर्ण ढंगले फ्रयोग गरी यानीमाया नामक २२५ वटा मुक्तक सङ्गृहीत गरेका छन् । मुत्तकमा लोकशब्द प्रयोग गरी मुक्तकलाई लोक भावधाराभित्र एकाकार गर्न चाहने उनको यो प्रयास सराहनीय छ । प्रस्तुत मुक्तकसब्ग्रहमा धेरै प्रेमका त्यसपछि समाज र राजनीतिका चित्रण छन् । स्वभाविक छ, जहाँ यानीमाया भाका हुन्छ त्यहाँ प्रेमकै अझिव्यक्त धेरै हुन्छ । तर मुत्तककार समाज र राजनीतिप्रति पनि सचेत छन् ।
मुक्तककार जीत बुढाथोकी छन्त्यालले आफ्नो भनाइमा साहित्यिक अभिरुचि सानैदेखि भएको तर तीनचार वर्ष अघि मात्र साहित्य लेखनमा लागेको कुरा अभिव्यक्त गरेका छन् । परिस्थिति र प्रेरणा कहिले एकसाथ हुन्छन्, कहिले टाढा । टाढा भए पनि ती एक समय नजिकिने, एकसाथ बस्ने पनि रहेछन् । यो सुखद् घटना मुक्तककार जीतको जीवनमा घटित भएको मैले अनुभूति गरेँ । मुक्तककार जीतले केही वर्षमा जुन सिर्जनात्मक विकास गरेका छन् त्यो लोभ लाग्दो छ । उनको यो विकास प्रवाह निरन्तररूपमा प्रवाहित भइरहोस् यही शुभेच्छा छ ।






