काठमाडौं १७ डिसेम्बर २०२३ ।

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
आज साँझ बडिमालिका नगरपालिका २ मार्तडीबाट गौमूल जाने क्रममा खडीगाडमा दुईवटा ट्याक्टर एक अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किएर खोलामा खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।
सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खस्दा चालक गौमूल गाउँपालिका ६ का हिक्मत रोकाय, ट्याक्टरमा सवार बडिमालिका नगरपालिका २ का ३८ वर्षीय देवराज जैशी, ३३ वर्षीया करिश्मा रोकाय र वडा नं १ का ३५ वर्षीय चन्द्र दानीको मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
लु ४ त ७३०५ नम्बरको ट्याक्टर भने भित्तामा ठोक्किएको छ। प्रहरी टोली घटनास्थल पुग्दा उक्त ट्याक्टरका चालक भागिसकेको डिएसपी बोहराले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






