लन्डन २२ डिसेम्बर २०२३ । पूर्वगोर्खा सैनिक एवं विश्व कीर्तिमानी आरोही निर्मल पुर्जामगर एमबीई (निम्स) लाई बेलायतको लोफब्रो विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।
पुर्जाले आरोहणका क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई सम्मान गर्दै विश्वविद्यालयले आफ्नो शीतकालीन दीक्षान्त समारोहमा उपाधि दिएको हो । दीक्षान्त समारोहमा आरोही पुर्जाले विश्वविद्यालयप्रति कृतज्ञता प्रकट गरे। उनले आफू लोफबोको पूर्वछात्र हुन पाउँदा गर्व लागेको भन्दै दीक्षित विद्यार्थीहरूलाई ठूलो सपना देख्न पनि सुझाव दिए ।
समारोहमा लफबरो युनिभर्सिटीका उपकुलपति प्रोफेसर निक जेनिङ्सले निर्मलका उपलब्धिहरू सर्वत्र प्रेरणादायक रहेको बताए ।
पुर्जाले विश्वविद्यालयको बिजनेस स्कुलबाट सन् २०१४ मा सुरक्षा व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा अध्ययन पूरा गरेका थिए । सन् २०१९ मा उनी पहिलो पटक छ महिना, छ दिनमा विश्वका १४ वटा ‘डेथ जोन’ चुचुरो आरोहण गरेपछि सार्वजनिक चर्चामा आएका थिए । उनको अविश्वसनीय यात्रा सन् २०२१ को नेटफ्लिक्स फिल्म ‘१४ पीक्सः नथिंग इज इम्पोसिबल’ मा कैद गरिएको थियो ।
नेपालमा जन्मेका पुर्जाले १६ वर्ष बेलायती सेनामा बिताएका थिए । जसमध्ये उनले ६ वर्ष गोर्खा रेजिमेन्ट र १० वर्ष बेलायतको विशेष बलमा सेवारत थिए । उनलाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथ द्वितियाबाट ‘एमबिई’ उपाधि पनि प्राप्त छ । त्यसैले उनी निर्मल पुर्जा ‘एमबिई’ भनेर पनि चिनिन्छन् ।






