काठमाडौं १७ फेब्रुअरी २०२४ ।

जलवायु क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पर्वतीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै काठमाडौँ घोषणापत्र जारी गरेका छन् ।
काठमाडौँमा भएको विश्व समाजिक मञ्चको १६औँ संस्करणमा भएको दुई दिने विश्व जलवायु न्यायसम्बन्धी सम्मेलनले काठमाडौँ घोषणा पत्र जारी गरेको हो । विभिन्न १२ वटा संस्थाहरुले संयुक्त रुपमा गरेको दुई दिने जलवायु सम्मेलनले जलवायु परिवर्तनका विभिन्न आयाम, प्रभाव, वित्त परिचालनको संयन्त्र र लक्षित वर्गको न्यायका विभिन्न विधामाथिको छलफलपछि काठमाडौँ घोषणापत्र जारी गरेको हो ।
जलवायु संकटको सम्बोधनसँगै दिगो विकास लक्ष्य हासिल गर्न नागरिक समाज संगठन, सामाजिक आन्दोलन, ट्रेड युनियन र विश्वका विभिन्न भागहरूका व्यक्तिहरूको संयुक्त पहल र सहकार्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने निस्कर्ष निकालेको छ ।
त्यसैगरी महिला तथा सीमान्त र पछाडि पारिएका समूहको अधिकार प्राप्ति बिना जलवायु न्याय नहुने भन्दै त्यस जलवायु वित्तमा ती वर्गलाई प्राथमिकतामा राख्न विश्वको ध्यानाकर्षण गराइएको छ । त्यसैगरी घोषणापत्रमा विश्वव्यापी वित्तीय प्रणालीको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याईएको छ ।






