काठमाडौं २० फेब्रुअरी २०२४ ।

हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन् ।
बैठकमा पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरे । त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरे ।
उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । जिम्मेवार नेपाली कांग्रेस स् समुन्नत देशु नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए ।
महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिए । महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नु परेको उल्लेख गरे ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पु¥याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताए ।
पार्टी प्रवक्ता डा महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासात् गर्ने बताए। त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको बताए ।
कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ सङ्गठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराएका थिए ।
महासमिति बैठकमा आज पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि छलफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।






