लण्डन २१ फेब्रुअरी २०२४ ।

नेपाल आदिवासी जनजाति महासंघ युकेले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।
नेपाल आदिवासी जनजाति महिला महासंघ युके, आदिवासी जनजाति पत्रकार महासंघ युके, जनजाति युुवा महासंघ युके र आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ युकेको आयोजनामा गोल्डेन सिप साउथ ह्यारोस्थित ८ मार्चका दिन हुने कार्यक्रममा प्रतिनिधी सभा नेपालकी उपसभामुख इन्दिरा रानाको प्रमुख अतिथी रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा सन २०२० की प्रभावशाली मलिा सपना रोकामगर, चित्रकार सुजना थापामगर विशिष्ट अतिथी रहनेछन् भने निवर्तमान सचिव, नेफिन केन्द्र तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरा प्रमुख वक्ता रहने छन् ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।






