काठमाडौं २२ फेब्रुअरी २०२४ ।

सत्ता घटक दल नेपाली कांग्रेसको महासमिति बैठक गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै सकिएको छ ।
गत सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठक आज सकिएको हो । उक्त बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित गरिएका छन् ।
लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि बैठकले ग्रहण गरेको छ । महामन्त्री गगन थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको जानकारी दिए ।
‘वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढसंकल्पित रहने अठोट गर्दै,अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सवैखाले विभेद र हिंशाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ’महामन्त्री थापाको भनाइ छ ।






