काठमाडौं २७ फेब्रुअरी २०२४ ।

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ ।
पशुपतिस्थित आर्यघाटमा मंगलबार अपरान्ह आचार्यका छोराद्वय सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।
आचार्यको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो। भजन शिरोमणिको उपाधि पाएका आचार्यलाई अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न गायक,संगीतकार तथा शुभचिन्तकहरू आर्यघाट पुगेका थिए।
अन्तिम दाहासंस्कार अघि आचार्यको पार्थिव शरीरमा प्रधानन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए।आचार्यलाई श्रद्धाञ्जली दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ,पर्यटनमन्त्री सुदन किराती,पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,विभिन्न दलका नेता,शुभचिन्तक,गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकार,सर्वसाधारण नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेका थिए।
अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर बिहान ११ बजेदेखि प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। त्यहाँ संगीतकर्मीहरूले आचार्यका कालजयी गीतहरू जहाँ छन् बुद्धका आँखा,हजार सपनाहरूको माया, गाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
आचार्यको सोमबार ८१ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्यले ‘मुटु जलिरहेछ ,‘जहाँ छन् बुद्धका आँखा’,‘हजार सपनाहरूको ’,लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन् ।






