
इंग्ल्याण्ड र नेपालको मैत्रीपूर्ण फुटबल खेलको लागि राजदूत आचार्यको शुभकामना
लन्डन- आगामी मे ६ मा इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय टिमबीच पहिलोपटक हुन लागेको ऐतिहासिक फुटबल खेल सफलताका लागि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले शुभकामना व्यक्त गरेका छन् ।
बेलायतको हाम्सायर प्रान्तमा अबस्थित अल्डरसट टाउन फुटबल क्लवले धेरै संघसंस्थाको सहयोगमा आगामी मे ६ तारिखका दिन नेपाली फुटबल टिम र इंग्ल्याण्ड सी टिमबीच ऐतिहासिक फुटबल खेल आयोजना गर्ने भइरहेको छ ।
उक्त फुटबल खेलमा धेरैको सहभागिता भएमा त्यसले जनस्तरमा आपसी सद्भाव बढाउन र फुटबल क्षेत्रमा द्विपक्षीय सहयोग अझ अभिवृद्धि गर्न पनि मद्दत गर्छ भन्ने मैले ठानेको छु’- राजदुतले भनेका छन् ।
यस मैत्रीपूर्ण खेलले बेलायतमा नेपालप्रति सद्भाव र नेपालीको पहिचान प्रवर्धन गर्न मद्दत सहयोग पुर्याउने व्यक्त गरेका छन । जनस्तरको सम्बन्ध अझ सुदृढ र व्यापक बनाउने विषयमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ । वास्तबमा भन्ने हो भने बेलायत जस्तो मुलुकमा यसले विशेष महत्व राख्दछ’, राजदुतले भनेका छन् ।
महामहिम आचार्यले आयोजक समितिका पदाधिकारीसंग दूतावासमा भएको छलफलमा समेत आफ्नो तर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन ।
बेलायतमा नेपालीहरुको जनघनत्व रहेको अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लब मैदानमा हुनलागेको उक्त खेल सफल बनाउन बेलायतको नेपाली समुदाय पनि एकवद्ध भएर जुटेको छ ।
राजदूत आचार्यले एक भिडियोमार्फत शुभकामना व्यक्त गर्दै सबैको सहभागिताका साथ उक्त ऐतिहासिक फुटबल खेल सफलतापूर्वक सम्पन्न हुनेमा पूर्ण विश्वस्त रहेको उल्लेख गरेका छन् ।
अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिमले बेलायतवासी नेपालीहरुलाई म्याच हेर्न आउन अनुरोध गरेका छन् ।






