गोर्खा कप-२०२४ को तयारीबारे तमु धीं युकेले गर्‍यो भर्चुअल बैठक

SHARE:

लन्डन १८ अप्रिल २०२४ । बेलायतमा लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप २०२४ को तयारीबारे आयोजक तमु धीं युकेले छलफल गरेको छ ।

आउँदो २६ मे आइतबार हुने २२ औं संस्करणको उक्त प्रतियोगिता तयारीबारे बुधबार १७ अप्रिलमा तमु धीं युकेले भर्चुअल माध्यमबाट गहन छलफल गरेको हो । अल्डरसट ह्याम्पसायर क्वीन्स एभिन्यू स्पोर्ट्स मैदानमा हुने प्रतियोगितालाई फरक र प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा गहन छलफल भएको तमु धीं युकेले जनाएको छ ।

तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको बैठकमा २२ औं गोर्खा कप तयारीका विषयमा बढी केन्द्रित थियो । बैठकमा यसपटक गोर्खा कपमा सहभागीलाई सहजताका लागि प्रतियोगितास्थलमा भित्रिने र बाहिरिने ढोका फरक गरिने र त्यस कार्यका लागि जनशक्ति धेरै आवश्यक पर्ने विषयमा छलफल भएको थियो ।

फुटबल प्रतियोगिताबारे विभिन्न समिति संयोजकहरुले बैठकमा ब्रिफिङ गरेका छन् । प्रतियोगितामा सबै विधाका गरी ५० टिमले भाग लिने छ । मेन टिम ३२ (१६-३० वर्ष उमेर समूह), भेटेरानतर्फ १६ टिम (४० वर्षमाथि), महिला २ टिमले प्रतिस्पर्धा गर्ने छन् । टिम दर्ता अप्रिल १४ देखि मे ११ सम्म जारी रहने २२ औं गोर्खा कप संयोजक तथा खेलकुद सचिव क्या दिपक घलेले जानकारी दिए ।

मुख्य टिमतर्फ ५ सय पाउन्ड बढाएर ३ हजार पाउन्ड पुरस्कार राशि पुर्‍याइएको छ । भेटेरानतर्फ १२ सय पाउन्डबाट १५ सय पाउन्ड पुर्‍याइएको आयोजकले जनाएको छ । विजेता, उपविजतालाई नगद पुरस्कारसँगै ट्रफी र प्रमाणपत्र दिइनेछ । सबै विधाका उत्कृष्ट खेलाडी, टप स्कोरर, मुख्य टिम र भेटेरनतर्फ वेस्ट म्यानेजरलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । विभिन्न स्टलहरु राखिने छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!