लन्डन १९ अप्रिल २०२४ । विश्वप्रसिद्ध लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की लन्डन आइपुगेका छन् ।
नेपाल रन यूकेको निमन्त्रणामा यहाँ आएका उनलाई कोषाध्यक्ष रवीन्द्र अधिकारी, विष्णु देवानलगायत पदाधिकारीले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए । गोपीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ५००० मिटर दौडमा स्वर्ण पदक जितेका थिए भने गत नोभेम्बरमा सम्पन्न नेपालगन्ज म्याराथन २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा समापन गरेका थिए । उनले तयारी राम्रो भएकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।
नेपाल रन यूकेले नवौं धारा नेपालगञ्ज म्याराथन उपाधि जित्ने विजेतालाई उपहार स्वरुप लण्डन म्याराथन दौडने स्थान प्रायोजन गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन यूकेले गर्ने क्लवका कोच सन्तोस राईले बताए ।
नेपाल रनले प्रवासमा नेपाली समुदायका साथै नेपालमा दौड संस्कृतिको विकास र सम्भावना रहेका धावकहरूलाई बिश्वमा प्रतिस्पर्धा गर्न सहयोग गर्ने उद्देश्य अनुरूप गोपीलाई लण्डन म्याराथनको स्थान प्रदान गरिएको क्लबका सचिव जगन कार्कीले बताए ।
यसपाली नेपाल रन यूकेका ५६ धावकले लन्डन म्याराथन दौडिने भएका छन् । लन्डन म्याराथनमा दौडने क्लबका मेम्बरहरुले विभिन्न च्यारिटी फन्डरेज पनि गरिरहेका छन्।






