
लन्डन ३० मे २०२४ । लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा निर्वाचित नेपाली मूलका मेयर जीत रानाभाटले शपथ लिएका छन् ।
नवनिर्वाचित मेयर रानाभाटले बुधबार वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित एक विशेष समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । उनी साताअघि सम्पन्न बरोको साधारणसभामार्फत सर्वसम्मत रुपमा मेयर निर्वाचित भएका थिए ।
बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले पहिरिने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिए । त्यसअघि रानाभाटले एक्सेप्टेन्स डिक्लरेसनमा हस्ताक्षर गर्दै मेयरको जिम्मेवारी औपचारिक रुपमा स्वीकारेका थिए ।
रानाभाटको शपथग्रहण समारोहमा बेलायती राजपरिवारका प्रतिनिधिसमेत रहेका ग्रीनवीच बरोका डेपुटी लेफ्टिेन्ट र बरोका उच्चपदस्थ अधिकारीहरुदेखि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र यहाँको नेपाली समुदायका अगुवाहरुलगायतको उपस्थिति थियो ।
सोही अवसरमा श्रीमति गौमाया गुरुङलाई मेयरेस घोषणा गरियो । समारोहकै लागि नेपालबाट मेयर रानाभाटका वयोवृद्ध आमाबाबुसमेत लन्डन आएका थिए । शपथग्रहणपछि मन्तव्य दिँदै रानाभाटले समुदायको सेवामा झन् कटिबद्ध रहेर लाग्ने प्रण गरे ।
कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन् । श्रीमती र दुई छोरीका साथ लन्डन प्लमस्टिडमा बस्दै आएका उनी प्रपर्टी र बिल्डिङ व्यवसायमा संलग्न छन् ।






