
खेमराज रानाभाट – महासचिव एफएनजे यूके
२७ जुलाई २०२४ – नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको गत १४ जुलाई २०२४ को छैठौं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २५ जुलाई २०२४ बिहिबारको दिन अध्यक्ष विमला सेनेको अध्यक्षतामा भर्चुअल माध्यमबाट सुसम्पन्न भएको छ ।
बैठकले छैठौं महाधिवेशन सफल रुपमा सुसम्पन्न भएको ठहर गर्दै महाधिवेशनमा सहभागिता जनाउनु हुने पत्रकार महासंघ केन्द्रका केन्द्रीय लेखा समिति संयोजक लेखनाथ न्यौपाने, पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, फोनिज नेपालका केन्द्रीय अध्यक्ष गजुर्धन राई, प्रेस चौतारी नेपालको अध्यक्ष गणेश बस्नेत, प्रेस युनियन नेपालको केन्द्रीय उपमहासचिव दिलिपा अधिकारीलगायत छैठौं महाधिवेशनको निर्वाचन समितिका संयोजक नरेश खपांगीमगर एवं सदस्यहरु पूर्ण गुरुङ र प्रजय शुक्ल, कानूनी सल्लाहकार सोलिसिटर उत्तरमान तिगेला, अनुगमन समितिका सदस्यहरु बरिष्ठ सल्लाहकार तथा समाजसेवी एकिन्द्र गुरुङ, ग्रेटर रसमर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ, शिब कलचर सेन्टरका अध्यक्ष बिक्रम भट्टराइ, एफएनजे युकेका संस्थापक अध्यक्ष नवीन पोखरेल एवं निवर्तमान कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल एवं सम्पूर्ण पदाधिकारी र सदस्यहरु, अधिवेशनमा सहभागी सम्पूर्ण साधारण सदस्यहरु, परिवेक्षकका रुपमा अधिवेशनमा उपस्थिति विभिन्न समाजमा अगुवा प्रतिनिधिहरु एवं सबै सहयोगीहरुप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
उक्त बैठकले शाखाका तीन पुर्व अध्यक्षहरु नविन पोखरेल, नरेश खपांगीमगर र ध्रुवराज अर्याललाई सल्लाहकारमा नियुक्त गरेको छ । त्यसैगरी यूके शाखाको छैठौं कार्यकालको केन्द्रीय प्रतिनिधिमा पत्रकारद्धय डा. शिव तिवारी र दुत पुन (चिम्खोले काईला) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रमको रुपमा आउँदो सेप्टेम्बर २२, २०२४ आईतबारका दिन भूपू गोर्खा आर्मीलाई बेलायत सरकारबाट शुरुवाती दिनदेखि अहिलेसम्म गर्दै आएको विभेद सम्बन्धमा सरोकारवाला विभिन्न पक्षहरुलाई राखी एउटा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । यस कार्यक्रमको संयोजन गर्ने जिम्मा उपाध्यक्षद्धय प्रमिला लाबुंग राई र शिव भण्डारीलाई दिएको छ । तमु धी यूकेले हरेक वर्ष मनाउँदै आएको नेपाली मेलामा एफएनजे यूकेको पनि सहभागिता रहने र त्यसको संयोजनको जिम्मा वरिष्ट उपाध्यक्ष नरेन्द्र बस्नेत र सदस्य बम थापा सुर्यबंशी मगरलाई दिएको छ ।
निवर्तमान कार्यसमितिबाट नयाँ कार्यसमितिलाई औपचारिक रुपमा बुझबुझारथ गरेको उक्त बैठकमा शाखाको बैंक खाता, वेभ साईट, ईमेल र सामाजिक सञ्जालका पेजहरुलाई समय अनुकुल थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।
गत जुलाई १४, २०२४ मा सम्पन्न छैठौ अधिवेशनबाट चयन भएको कार्यसमितिमा केहि साथीहरु समितिमा बस्ने ईच्छा हुँदा हुँदै पनि शाखाको विधि विधान र निर्वाचन प्रक्रिया पश्चात स्वभाविक रुपमा छुटेका बारेमा नवनिर्वाचित कार्यसमिति जानकार छ र समाजका सबै पक्षहरुले त्यहि रुपमा बुझेको यस शाखाले विश्वास गरेको छ । महाधिवेशन पश्चात केहि असन्तुष्ट साथीहरुले शाखाको नाम, लोगो र फेसबुक पेजको अनाधिकृत रुपमा प्रयोग गरि समाजमा अनर्गल प्रचारप्रसार गर्नमा संलग्न भएको प्रति यस शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । यस किसिमको अवैधानिक र अनाधिकृत कार्यमा संलग्न नहुन सम्बधित साथीहरुलाई आग्रह गर्दै आगामी दिनमा यस्ता कार्यमा संलग्न भएको देखिएमा यस शाखा ती साथीहरुलाई कारवाही गर्न बाध्य हुने जानकारी गराउँदै कुनै असन्तुष्टिका विषयवस्तु भए विधि सम्मत रुपमा यस शाखामा राख्न पनि सम्बन्धित पक्ष समक्ष हार्दिक आग्रह गरेको छ ।






