काठमाडौं ३१ जुलाई २०२४ । नेपालमा एमाले नेतृत्वमा नयाँ सरकार गठनसँगै तीन प्रदेशमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् । उनले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुखहरु नियुक्त गरेका हुन् ।
कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त भएका हुन् । रोल्पाका घर्तीमगर र बझाङका जोशी नेपाली कांग्रेसका तर्फबाट प्रदेश प्रमुख बनेका हुन् ।
यसअघि बागमतीमा यादवचन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा नेकपा (एकीकृत समाजवादी), शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।






