
काठमाडौं ८ अगस्ट २०२४ । बेलायत सरकारले नेपाललाई १३ अर्ब ८ करोड अनुदान सहायता दिने भएको छ ।
बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार्ने निर्णय नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले गरेको हो ।
बेलायतबाट प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्वीकार्ने निर्णय गरेको बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंकबाट जीवमैत्री वातावरणसम्बन्धी परियोजनाका लागि प्रस्ताव गरिएको अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए ।






