
१२ अगस्त २०२४ – बेलायत। नेपाली मेला २०२४ को प्रचार प्रसारको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बेलायत र नेपालबाट संचालित संचारगृहका झन्डै तिन दर्जन पत्रकारहरुको उपस्थिति हुने, तमु धिं युकेका मिडिया सचिब एसके गुरुङले जानकारी दिएका छन।
पत्रकार सम्मेलन आउने आइतवार १८ अगस्तका दिन बेलायतको मिचेतस्थित तमु धिं युकेको आफ्नै भवनमा दिनको ठिक १ बजे शुरुहुने भएको छ।
तमु धिं युकेले नेपाली राजदुतावास बेलायतसंग सहकार्य गर्दै हरेक बर्ष नेपाली मेला आयोजन गर्दै आएको छ। यस बर्षको नेपाली मेला १५ औं नेपाली मेला हो। नेपाली मेला बेलायतवासी नेपालीहरुको अत्यधिक लोकप्रिय कार्यक्रमको रुपमा परिचित भैसकेको छ।
नेपाली मेला २०२४ आगामी आइतवार २५ अगस्तको दिन बेलायतको किम्टन पार्कमा बिहानको १० बजे देखि शुरुहुने भएको छ।यस बर्षको नेपाली मेला बिगतका बर्षहरुमा भन्दा पृथक हुने तमु धिं युकेका अध्यक्ष हरि गुरुङले बताएका छन।
नेपाली मेलामा बेलायतमा स्थापित विभिन्न समुदाय र जातजातिको आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज र पहिचानमा आधारित झाँकी र नृत्यहरू प्रस्तुत गरिन्छ। यस बर्षको नेपाली मेलामा ४० भन्दा बढी संघ संस्थाहरुले सहभागिता जनाउने प्रतिवद्धता गरेको नेपाली मेला कार्यक्रम संयोजक तथा तमु धिं युकेका उपाध्यक्ष परशुराम गुरुङले जानकारी दिएका छन।
तमु धिं युकेका अध्यक्ष हरि गुरुङले नेपाली मेला-२०२४ सभ्य र भब्य बनाइदिनहुनको लागि बेलायतमा रहेका सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदिबहिनीहरु सपरिवारसहित उपस्थित जनाइदिनहुन अनुरोध गरेका छन् ।






