
काठमाडौँ १४ अगस्ट २४ । नेपालको प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पारित भएको छ ।
सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
यसैबीच सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उनीहरूले मौलिकतामा आधारित रहेर शान्ति प्रक्रिया निष्कर्ष पुग्ने क्रममा रहेको बताए ।
सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन दलहरूबीच अभूतपूर्व एकता भएको उल्लेख गर्दै नेताहरूले मुलुक र जनताका लागि राजनीतिक दल एकताबद्ध हुन सक्छन् भनेर पुष्टि भएको टिप्पणी गरे । उनहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झा, जनमत पार्टीका सांसद अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, आम जनता पार्टीका सांसद प्रभु साह, स्वतन्त्र सांसद डा अमरेशकुमार सिंह, स्वतन्त्र सांसद योगेन्द्र मण्डलले लगायतले धारणा राखेका थिए । उनीहरु अगाडि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरु धारणा राखेका थिए ।






