नेपालको खुम्बुमा बाढी : २० घर, होटल लज, विद्यालयमा क्षति, रक्षामन्त्री राई प्रभावित क्षेत्रमा

SHARE:

काठमाडौं १७ अगस्ट २०२४ । नेपालको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा शुक्रबार आएको बाढीले २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको छ ।

बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उनको भनाइ छ ।

यसैबीच बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ ।

यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौँबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली शनिबार बिहान थामे पुगेको हो । निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!