लन्डन ११ सेप्टेम्बर २०२४ । आफूहरुको चार वर्षे कार्यकाल सम्पन्न गरेर नेपाली दूतावास लन्डनकी नियोग प्रमुख रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाल छिट्टै स्वदेश फर्कंदै छन् ।
देश फर्कनु अघि बेलायतका लागि कार्यवहाक राजदूतसमेत रहेकी खनाल र सचिव नेपाललाई तमु धीं यूकेले सोमबार ९ सेप्टेम्बर २०२४ मा मिचेटस्थित आफ्नै भवनमा एक समारोह आयोजना गरी बिदाइ गरेको छ । खनाल र नेपाललाई अध्यक्ष हरि गुरुङले फेटा, खादा, पुष्पगुच्छा र मायाको चिनोसहित बिदाइ गरेका थिए ।
सोही अवसरमा बेलायत भ्रमणमा रहेका वरिष्ठ पत्रकार एवं फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङ र कलाकार शिवदास गुरुङलाई समेत बिदाइ गरिएको थियो । तमु धीं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालक महासचिव डा. विशाल गुरुङले स्वास्थ्य र सुरक्षा बारे जानकारी गराएका थिए । बिदाइ कार्यक्रममा नियोग प्रमुख खनालले बेलायतमा ४ वर्ष बिताएका गतिविधि भिडियोमार्फत देखाइएको थियो ।

कार्यक्रममा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले बिदाइ गरिएका नियोग प्रमुख, द्वितीय सचिव नेपाल, वरिष्ठ पत्रकार र कलाकार गुरुङद्वयलाई शुभकामना र शुभयात्रा भनेका थिए । कार्यवहाक राजदूतसमेत रहेकी खनालले तमु धीं यूकेले बेलायत र नेपालमा संस्कार, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे प्रशंसा गरेकी थिइन् । द्वितीय सचिव नेपालले पनि आयोजकप्रति धन्यवाद व्यक्त गरे ।
तमु धीं यूकेले नेपाली राजदूतावासको सहकार्यमा हरेक वर्ष नेपाली मेला आयोजना गर्दै आएको छ । यस पटक गत अगस्ट २५ तारिखमा १५ औं संस्करणको नेपाली मेला सम्पन्न गरेको थियो ।
तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले आफू नेतृत्वको संस्थालाई कार्यवहाक राजदूत खनाल, द्वितीय सचिव नेपालसहित सबै टिमले पुर्याएको योगदानका लागि आभार व्यक्त गर्दै बिदाइ कार्यक्रममा आइदिएकोमा दुवैजनालाई आभार प्रकट गरे । कार्यक्रममा बिदाइ भोज समेत व्यवस्था थियो ।






