
माया गुरुङ – वेलायत
५ नोभेम्बर २०२४ । वेक्स्ली नेपाली समाज यूकेले २०८१ सालको देउसी भैलो कार्यक्रम बडो रमाईलो र परम्परागत तरिकाले मनाई भव्यताका साथ सम्पन्न गरेको छ ।
समाजको उपाध्यक्ष बाला प्रसाईं संयोजक रहेको सो देउसी भैलो कार्यक्रम अहिल्या कुँवारले सञ्चालन गरेका थिय । पहिलो दिन कार्यक्रमको थालनीमा समाजका सल्लाहकार माया गुरुङद्वारा अध्यक्ष डाक्टर हरिश ज्ञावलीलाई मखमली, सयपत्री फूलमालाको साथमा ढाकाको टोपी पहिऱ्याएर देउसी भैलो कार्यक्रम शुरु गरिएको थियो ।
उक्त समयमा समाजका अध्यक्ष डाक्टर हरिश ज्ञावली, सँस्थापक अध्यक्ष केश बहादुर गुरुङ, पूर्व अध्यक्षहरू द्वय विजय बहादुर गुरुङ र आनन्द धरेलले शुभकामना दिएका थिए ।
साँझपख मखमली, सयपत्री फूलमाला र घर दैलोमा लस्करै बत्तीहरूको दीप दीप उज्यालो, लक्ष्मी पूजा,सेल रोटी र मेवा मिष्ठान्नको वास्ना, महिला पुरुष, केटाकेटी नेपाली पोशाकमा सजिएर मादल घन्काउँदै देउसी भैलो खेलेको र आफ्नै नेपालीपन झल्काउँने नाँचगान गरेको सो कार्यक्रम वेलायतमा नभई नेपालकै भूमिमा जस्तै भान भएको थियो । यसरी नानी बाबुहरूले समेत सक्रिय भएर कार्यक्रममा पूर्ण रुपले सहभागिता जनाएको तिहारको रौनक निकै रोचक र प्रवासीहरू सबैको लागि सन्देशमूलक देखिएको थियो ।
आफ्नो व्यस्ततालाई पन्छाएर वेक्स्लीवासी सदस्यहरू धेरैले घरमा निम्ता गरेको भए पनि अर्को वर्ष जाने निर्णय गरी तीन दिन साँझपख भएको यो देउसी भैलो वेक्स्ली नेपाली समाजका सदस्यहरू ईन्द्र गिरी, राजु अधिकारी, उमेश गौतम, नलिनी श्रेष्ठ, मनीष भारद्वाज, वासु अर्याल र प्रदीप चालिसेका घरमा खेलिएको थियो ।
नेपाली मौलिक भेषभूषामा नेपाली सँस्कार- सँस्कृति र पहिचानको जगेर्ना गर्दै लुना अधिकारी न्यौपाने, सेजल गौतम, ईभा थापा, सुभ्रित गौतम र रोशन गौतमले नेपाली नृत्य वा नाँचगान गरेका थिए भने देउसी/भैलो भट्याउनेहरूमा हेमान्त सेडाई, विमला सेडाई, उपाध्यक्ष केदार थपलिया, वसन्त सापकोटा, उपाध्यक्ष बिजिता गौतम र सविता वराल थिए ।
विदेशमा रहेर पनि आफ्नो घर घरमै देउसी भैलो निमन्त्रण गरी दक्षिणा, अतिथि सत्कार गरेर जुन कार्य गरेका छन् त्यो वास्तवमा वर्तमान परिवेशमा अति नै सराहनीय छ ।






