
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विगत ६ महिनादेखि गुम्बामा सेवा गर्दै आएका लोपेन दावालाई बिदाई गरेको छ । गत शुक्रबार बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ, प्रमुख लामा खेन्पो सेनाङ्ग, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सदस्य, आमाहरु र सल्लाहकारहरुले खादा लगाई बिदाई गरिएको हो ।
काठमाण्डौं बौद्धस्थित शेछेन गुम्बामा आवद्ध लोपेन गत मे महिनादेखि बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिनुका साथै विभिन्न पूजापाठहरु गर्दै आएका थिए । भुटान घर भएका लोपेन दिल्ली हुदै भुटान फर्किन लागेका हुन् ।
बीसीसी युकेले गत २० अक्टोबरका दिन औपचारिक रुपमा बिदाई गरिएको भएता पनि उनी शुक्रबार स्वदेश फर्कन लागेका हुन् ।
सो अवसरमा गुम्बाका धर्म गुरुहरु लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङ, बीसीसी युकेका पूर्व अध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, सचिव रिन्जी शेर्पा, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङलगायतका आमाहरुले समेत खादा लगाई बिदाई गरेका थिए ।
त्यस्तै, उनलाई बीसीसी युकेका लामा हर्क जंग घले, पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टसम्म संगसंगै गई बिदाई गरेका थिए ।








