
काठमाडौं १० नोभेम्बर २०२४ । नेकपा एमालेका कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोप लागेका पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई विराटनगरस्थित निवासबाटै आइतबार पक्राउ गरिएको हो । मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।






