काठमाडौं २३ नोभेम्बर २०२४ । नेपालका पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पदमबहादुर राईको निधन भएको छ ।
राईको शनिबार २०८१ मंसिर ८ गते बेलुकी ६:३० बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको माओवादी केन्द्रका नेता अजम्बर राई काङमाङले जानकारी दिए । राई लामो समयदेखि पार्किन्सन रोगबाट थलिएका थिए ।
नेता राईको पार्थिव शरीर भोलि आइतबार ९ गते बिहान ९ बजे माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि राखिने जनाइएको छ ।
यसैबीच पूर्वमन्त्री राईको निधनमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दु:ख व्यक्त गरेका छन् ।
‘पारकिन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री क. पदम राईको निधनले दुखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन् ।
राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागेका थिए । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिएका थिए । तर पछि उनी माओवादीमा फर्किएका थिए ।






