लन्डन २२ अप्रिल २०२४ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवस मनाउन विभिन्न पाँचवटा समिति गठन गरिएको छ ।
अल्डरसटमा प्रत्यक्ष र जुममार्फत आइतबार बसेको कार्यसमिति बैठकले विभिन्न समिति गठन गर्दै कार्यविभाजन गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय पदाधिकारीको प्रत्यक्ष उपस्थितिमा आउँदो जुलाई १३ तारिख अल्डरसटस्थित सुसी मोतो रेष्टुरेन्ट हलमा पत्रकार महासंघको स्थापना दिवस कार्यक्रम हुँदै छ ।
शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा भएको बैठकले एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समिति संयोजकमा बीबीसी नेपाली सेवा र कान्तिपुर टिभीमा लामो समय कार्यरत वरिष्ठ पत्रकार सुमन खरेल एवं सदस्यहरु शाखाकी वर्तमान अध्यक्ष विमला सेने, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु नरेश खपांगीमगर, ध्रुवराज अर्याल र नवीन पोखरेललाई जिम्मा दिने निर्णय गरेको छ ।
स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष प्रमिला लाबुङ राई र सदस्यहरुमा गोमा राना एवं मन्जु भण्डारी खरेल, व्यवस्थापन तथा हल सजावट संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, सदस्यहरु गोमा राना, प्रचारप्रसार समिति संयोजकमा महासचिव खेमराज रानाभाट, सदस्यहरु उपाध्यक्ष शिव भण्डारी, सचिव विश्वासदीप तिगेला र सदस्य मिलन तमु छन् ।
त्यसैगरी, आर्थिक समिति संयोजकमा कोषाध्यक्ष एस के गुरुङ, सदस्यहरु उपाध्यक्ष प्रमिला लाबुङ राई, बाचस्पति रेग्मी, नगेन्द्र नेम्वाङ र विश्वासदीप तिगेला छन् । बैठकले आगामी २२ जुन तारिख सञ्चारमा डिजिटल युग र सामाजिक सञ्जालको बढ्दो प्रभावबारे नेपालबाट विज्ञ सम्मिलित एक भर्चुअल तालिम गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नयाँ वर्ष २०८२ शुभकामना र गत वर्ष १४ जुलाईमा निर्वाचित छैठौं कार्यसमितिको ९ महिने कार्यकालबारे समीक्षा भएको थियो । शाखाले केही उतारचढाव सामना गरे पनि आफ्नो सक्रियता कायमै राखेको र हरेक महिनाको पहिलो आइतबार समसामयिक विषयमा भइरहेको अन्तरक्रिया प्रभावकारी बनेको मूल्यांकन गरेको छ ।
अध्यक्ष विमला सेनेले स्थापना दिवस सफल बनाउन सम्पूर्ण कार्यसमितिलाई आग्रह गर्दै नेपालबाट केन्द्रीय पदाधिकारी निमन्त्रणा, उनीहरुको बेलायत भ्रमण आदि सम्बन्धमा राय सुझाव लिएकी थिइन् । सो अवसरमा हाल बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार तथा कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई स्वागत सम्मान गर्दै समसामयिक विषयमा छलफल भएको थियो ।






