बीसीसी युकेले अल्डरसटमा २५६९ औं बुद्ध जयन्ती मनाउँदै

SHARE:

लण्डन २३ अप्रिल २०२५ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६९ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १२ सोमबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको बिशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने छ ।

दुई चरणमा आयोजना गर्न लागिएको उक्त १२ मे  सोमबार बिहान ८ बजे देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, लोपेन भिमनाथ योन्जनलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गर्ने भएको छ । त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी युकेका उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले जानकारी दिए । उनका अनुसार शुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ्ग गरिने कार्यक्रम रहेको छ । सो पश्चात प्रवचन र अभिषेक प्रदान गरिने छ ।

बीसीसी युकेका अध्यक्ष आङ्ग दावा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको अन्त्यमा श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेले व्हाईट तारा लङ्ग लाईफ इम्वापरमेन्टको बिशेषता र महत्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) दिनेछन् ।
सो कार्यक्रमका लागि प्रवेश शुल्कवापत १५ पाउण्ड दस्तुर तोकिएको र उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा इभेन्टब्राईट अनलाईनबाट टिकट लिन सकिने कार्यक्रम संयोजक गुरुङले जानकारी गराएका छन् ।

साथै, बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभिओका अनुसार उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेलाई बिशेष अतिथि, विभिन्न संघसंस्थाका अध्यक्षहरु, विभिन्न गुम्बाका गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको छ ।

निःशुल्क खाना र चियापनको समेत व्यवस्था गरिएको उक्त बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको अध्यक्ष शेर्पाले जानकारी गराउँदै उक्त कार्यक्रममा सहभागी भैदिनहुनका लागि सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गरेका छन् ।

स्मरण रहोस्, बीसीसी युकेले प्रत्येक बर्ष विविध धार्मिक कार्यक्रमकासाथ बुद्ध जयन्ती मनाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!