बेलायतलगायत देशमा संकलित चन्दाबाट खोटाङमा पहिरोपीडित राई परिवारलाई नयाँ घर

SHARE:

लन्डन २६ अप्रिल २०२५ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाएका थिए । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवैमा कमजोर छन् ।

बुबाको अप्राकृति मृत्युपछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ । ठूली बहिनी दीपा राई कक्षा ७, निशा कक्षा ५ र कान्छा भाइ मुस्कान कक्षा ३ मा अध्ययनरत छन् । भाइबहिनीको पठनपाठनसँगै आफूसमेत कक्षा १० मा अध्ययनरत छितिजको घर गत असार ९ गतेदेखि सुरू भएको भारी वर्षासँगै आएको पहिरोले पुर्‍यो । सुङ्देलस्थित भीरखर्कमा रहेको घर तथा घरमा भएका सम्पूर्ण सामग्री पहिरोमा पुरिएपछि छितिज पाँचजनाको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएको थियो ।

पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमेपछि विचल्लीमा परेका छितिजको परिवारलाई स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । स्थानीय देवानसिं कोयी राईले खाजु भन्ने ठाउँमा निःशुल्क उपलब्ध गराएको एक रोपनी १३ आना जग्गामा करिब रु नौ लाख खर्चेर निर्माण गरिएको ढुङ्गामाटोको गाह्रो तथा जस्तापाताको छाना भएको दुईतले घर शुक्रबार औपचारिक रुपमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको हो ।

देश तथा विदेशमा रहेका आफन्तबाट सङ्कलन गरिएको चन्दा तथा श्रमदानबाट निर्माण गरिएको घर गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको संयोजनकर्ता एवं सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र कोयी राईले जानकारी दिए । “पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री पुरेपछि विचल्लीमा परेका छितिजको परिवार आफन्तकामा आश्रय लिएर बसिरहेका थिए । उनीहरुका लागि गाउँपालिका, हङकङ र बेलायतमा सङ्कलन गरिएको चन्दाबाट घर निर्माण गरिदिएका हौँ”, उनले भने, “यो अभियान सफल पार्नका लागि सबैको साथ र सहयोग महत्वपूर्ण रह्यो । अभियानमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ! छितिजको परिवारलाई उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछु ।”

पहिरोपीडित छितिजको परिवारका लागि घर निर्माण गर्न कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालन गरिएको चन्दा सङ्कलन अभियानमा हङकङबाट हितबहादुर कोयी राईको पहलमा रु तीन लाख ५० हजार, बेलायत (युके)बाट कृतबहादुर कोयी राईको पहलमा रु एक लाख ५० हजार र केपिलासगढी गाउँपालिकाले रु एक लाख ५० हजार उपलब्ध गराएको जनाइएको छ । घर निर्माणमा नगद र श्रमदानगरी रु नौ लाख बढी खर्च भएको छितिजको घर निर्माण अभियानमा आर्थिक व्यवस्थापनको जिम्मा लिएका स्थानीयवासी एवं सूर्य माध्यमिक विद्यालय सुङ्देलका शिक्षक भूपिन्द्र कोयी राई (बि)ले जानकारी दिएका छन् ।

घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई गाउँपालिकाको तर्फबाट उपलब्ध हुने सुविधालाई निरन्तरता दिने स्टाटसमार्फत प्रतिबद्धता जनाए ।

पहिरोपीडित छितिजको परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि नगदसँगै खानाको लागि दाल, चामल र पठनपाठनका लागि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!