बेलायतमा नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष शेर्पासँग ‘मिट एन्ड ग्रिट’

SHARE:


लन्डन २६ अप्रिल २०२५ । बेलायत भ्रमणमा रहेका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पासँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतले शनिबार २६ अप्रिल २०२५ अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा अध्यक्ष शेर्पासँग आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया गरेको हो । कार्यक्रम नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा भएको हो । कार्यक्रम अध्यक्ष योगेश राई र केन्द्रीय अध्यक्ष गेल्जे शेर्पाले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

महासचिव फ्रम दुराले कार्यक्रम सञ्चालन गरेका थिए । अध्यक्ष शेर्पाको भ्रमणबारे अध्यक्ष राईले संक्षिप्त भनाइ राखे । कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, नेफिनका सल्लाहकार एकेन्द्र गुरुङ, फोनिज यूकेकी अध्यक्ष बिमला सेने, जीआरएनसी यूकेकी अध्यक्ष लिला सेलिङ माबोलगायत बेलायतमा सक्रिय विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष शेर्पाले ब्रिटिस गोर्खा र उनीहरुका सन्तानलाई नेपाली नागरिकता दिँदा नेपाल सरकारलाई कुनै हानिनोक्सानी नहुने बताएका छन् । उनले ब्रिटिस गोर्खाले नेपाली नागरिकता पाउनुपर्नेमा जोड दिएका हुन् । ‘तपाईंहरु (ब्रिटिस गोर्खा)ले आफ्नो नागरिकता पाउनुपर्छ । तपाईंहरु आफ्नो खुसीले विदेशमा रोजगारीका लागि गएका/आएका होइनन् । एक किसिमले भन्दा सरकारले बेचेको हो । त्यसैले दोहोरो नागरिकता पाउनुपर्छ । दोहोरो नागरिकता दिँदा सरकारलाई कुनै हानिनोक्सानी हुँदैन,’ उनले भने, ‘किनभने तपाईंहरुले यहाँ सिकेको सिप त्यहाँ (नेपाल)मा लगानी गर्न सक्नुहुन्छ । यहाँका छोराछोरी डक्टर, ग्र्याजुयट भएका छन् । राम्रो ठाउँमा पुगेकाले तिनीहरुले आफ्नो सिप क्षमता देखाउन सक्छन् ।’

नेपाल सरकारले ब्रिटिस गोर्खालाई नागरिकता दिएन भने उनीहरुले नेपालको सम्पत्ति बेच्नु पर्ने र यहाँको लगानी, सीप नेपालमा नजाने उल्लेख गर्नुभयो । ‘ नागरिकता भएन भने पुर्खाको सम्पत्ति बेच्नु पर्छ । आफ्नो पुर्खाको सम्पत्ति बेच्न कसैलाई रहर हुन्छ ? हुँदैन । दोहोरो नागरिकता भएन भने तपाईहरुले नबेच्नु भए पनि सन्ततिले बेच्छन्,’ उनको भनाइ छ, ‘भोटिङ राइट्सबाहेक सबै अधिकारसहितको नागरिकता भने पनि दिनुपर्छ ।’

उनले आफ्नो देश र पहिचानलाई नभुल्न पनि बेलायतवासी नेपालीलाई आग्रह गरे । ‘नेपालीबाट पहिचान हराइसकेपछि । जातीय संस्थाको । त्यसपछि गाउँको । विस्तारै विस्तारै हराउँछ । यहाँ सुखसुविधा होला । तर हिजो अमेरिका भन्नेर गर्व गर्नेहरुलाई ट्रम्पले राष्ट्रपतिमा आइसकेपछि अपराधी जसरी तत्लोको वर्गमा झारेर हत्कडी लगाएर फिर्ता गराइरहेका छन्,’ उनले थपे, ‘देश भनेको माटो हो । माटोलाई चिन्नुपर्छ । हामीलाई चिन्नु पर्छ । तपाईंहरुले पहल गर्नुपर्छ । हामी नेपालमा पहल गर्छौं । ३५ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातिले भनेपछि भेट्न पनि प्रधानमन्त्री, मन्त्री र नेताहरुले मान्छन् ।’

नेपालमै बसेर राज्यको विभिन्न निकायमा आदिवासी जनजाति जाने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘२०७२ को संविधानको राम्रो पक्ष २७५ सांसद रहेको प्रतिनिधिसभामा ९६ जना आदिवासी जनजाति समुदायका माननीय छन् । ९३ सदस्यीय कोसी प्रदेशमा ५४ जना आदिवासी जनजातिका छोराछोरी छन् । वाग्मतीमा ११० मा ५९ आदिवासी जनजातिका माननीय छन् । त्यहाँ त मुख्यमन्त्री पनि तामाङ समुदायबाट छन् । यो संविधानले दिएको अधिकार हो । हामीले थप अधिकारका लागि एकजुट भएर लाग्नुपर्छ ।’

यस्तै अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा महासंघको आफ्नै भवन बनाउने तयारीसहित २४ आना जग्गा हेरिसकेको जानकारी दिए । आफू बेलायतबाट फर्किएर जग्गा किन्ने र जनजाति महासंघको ‘सिंहदरबार’ बनाउने कोसिस गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए । नेफिन यूकेलाई जुन संस्थाको नेपालमा मातृ संस्था छ वा त्यहाँबाट सम्बन्धन भएकालाई मात्र महासंघमा आबद्ध गराउन उनले निर्देशन दिए । उनले आफूलाई स्वागत गरेकोमा र अन्तरक्रिया कार्यक्रम राखेकोमा नेफिन बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईलगायतलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!