लन्डन २७ अप्रिल २०२५ । बेलायतस्थित एनआरएनए अभियन्ता थर्क सेनले काठमाडौंमा अग्रज र डेलिगेट्सहरुसँग भेटघाट तीव्रता पारेका छन् ।
मे ३ देखि ५ तारिखमा काठमाडौँमा हुन लागेको एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका सेनले अग्रज र डेलिगेट्सहरुसँग भेटेर यसपटक आफूलाई सहयोग गर्न अपिल गरेका हुन् । उनी युरोप र मध्यपूर्वका कयौं देश घुमेपछि हाल काठमाडौं पुगेका छन् ।
‘मैले संघमा धेरै पसिना बगाएको छु । संघको गरिमा जोगाउन, नेपाललाई समृद्ध बनाउन र गैर आवासीय नेपालीहरुको सर्वोपरि हितका मलाई एकपटक अवसर दिनुस्’, सेनले भेटघाटमा भनेका छन् ।महाधिवेशनका लागि डेलिगेट्स बन्न संसारभरिका करिब ३,२०० जनाले आवेदन दिएका छन् भने प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भइसकेको छ ।
एनआरएनए अभियानमा स्थापनाकालदेखि नै होमिएका सेनले एनआरएनए यूके सदस्य र उपाध्यक्ष एवं केन्द्रमा एनआरएनए आइसीसी सदस्य हुँदै डा. शेष घले पक्षको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् । सेनले विभिन्न पदमा बसेर महत्वपूर्ण जिम्मेवारी कुलशतापूर्वक सम्पन्न गरेकाले आफू अध्यक्ष हुन योग्य भएको दाबी गरे । सेनले ट्राफिक एण्ड ट्रान्सपोर्ट र स्किल एण्ड नलेज ट्रान्सफर टु बिल्ड द मदरल्याण्ड नेपाल जस्ता टाक्सफोर्स लिड गरेर नेपालमा प्रभावकारी काम गरिसकेको बताए ।
सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन आउँदो मे ३ देखि ५ सम्म (वैशाख २० देखि २२ गते) काठमाडौँमा भौतिक रुपमा हुँदैछ । बद्री केसी पक्षले महाधिवेशन रोक्न राजनीतिक नेतृत्वलाई भरपुर दुरुपयोग गरे पनि निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ । निर्वाचन समितिले बुधबार निर्वाचन कार्यक्रम निर्धारण गर्दै वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।






