पोखरा ७ मे २०२५ । तमु धीं यूकेले नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ का लागि ट्रफी प्रायोजन गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई तमु धिं यूकेले ट्रफीका निम्ति ५० हजार रूपैयाँ सहयोग गरेको हो । तमु धीं यूके नेपाल प्रतिनिधि मेजर लछिमीप्रसाद गुरुङले अवार्डका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, मञ्चका अध्यक्ष एमबी आस्था मगर, मञ्चका सदस्य कृष्णप्रसाद दवाडीलगायतको टिमलाई मंगलबार सहयोग हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण गर्दै प्रतिनिधि गुरुङले अन्य क्षेत्रसँगै खेल क्षेत्र विकासका लागि तमु धीं यूके नेपाल सधैं तयार रहेको बताए । अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक बराल र मञ्चका अध्यक्ष मगरले सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिँदै आएको मञ्चले जनाएको छ ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्नेछ भने त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दै आइरहेको छ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुतिसमेत रहने मञ्चले जनाएको छ ।






