
जयराम तामाङ
लन्डन १२ मे २०२५ । पाँचौं गोर्खा नेपाली सोसाइटी सुइण्डन (जीएनएस) भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि मोना यूकेले जितेको छ ।
सुइण्डस्थित न्यू कलेजको खेल मैदानमा शनिबार मे १० मा भएको फाइनल खेलमा मोना यूकेले बेजिङस्टोकलाई २-० गोलअन्तरले हराउँदै उपाधि जितेको हो । विजेता टिमलाई गोर्खा नेपाली सोसाइटी सुइण्डनका अध्यक्ष रामकुमार थेबेले ८०० पाउण्ड नगद, मेडल प्रमाणपत्र तथा शिल्ड हस्तान्तरण गरे । उपविजेता अथवा फस्ट रनरअप बेजिङस्टोकले ५०० पाउण्ड नगद,मेडल प्रमाणपत्र र शिल्ड प्राप्त गर्यो । महिलातर्फ बेस्ट प्लेअर ज्योति गुरुङ घोषित भइन् ।
प्रतियोगितामा बेलायतका विभिन्न सहरमा रहेका भलिबल टिमहरुले भाग लिएका थिए । महिलातर्फ ७ र पुरुषतर्फ १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषतर्फबाट फाइनल खेलमा ग्रीनवीच ‘ए’ र केन्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । बेस्ट अप थ्रीमा खेलाइएको खेलमा दुवै टिमले १/१ गेम जिते पनि फाइनल खेल खेल्न समयको अभाव भएपछि आयोजकको अनुरोध र दुवै टिमको सहमतिमा प्रथम र द्वितीयले पाउने नगद पुरस्कार दुवै टिमले आधा-आधा बाँड्ने गरी खेल सम्पन्न भएको थियो । शिल्डका लागि भने चिठ्ठा हालेर निर्णय लिइएको थियो ।
पुरुष तर्फका विजेताका लागि १५०० नगद, मेडल, प्रमाणपत्र र शिल्ड तथा दोस्रो तथा फस्ट रनर अपका लागि १००० नगद, मेडल र प्रमाणपत्र पुरस्कार राशि थियो । पुरुष तर्फबाट हरि थापालाई बेस्ट प्लेअर घोषणा गरिसकेपछि सुइण्डन भलिबल क्लबका अध्यक्ष सन्त मगरले प्रमाणपत्र र ट्रफी प्रदान गरे ।
विभिन्न संघ संस्थाहरु, व्यवसायीहरु र व्यक्तिगत गरी जम्मा ८६ वटा प्रायोजकहरुले भलिबल प्रतियोगितामा प्रायोजन गरेका थिए ।








