
लन्डन १८ मे २०२५ । बेलायती डायस्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सहभागी हुने छिन् ।
गोर्खा कपको २३औँ संस्करणमा खेलाडी साम्बा आउने आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले शनिबार मिचेटस्थित तमुधीं भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । ‘राष्ट्रिय खेलाडीलाई प्रोत्साहन, सम्मान र बेलायतको इभेन्टमा पनि राष्ट्रिय खेलाडीहरु मुख्य आकर्षण हुने भएकाले बोलाइएको हो’, अध्यक्ष गुरुङले भने । खेल २५ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुनेछ ।
लमजुङ, सिम्पानी-७ पाम्चोकमा जन्मिएकी सावित्राले प्राप्त गरेको सफलता नेपाली फुटबलकै लागि दुर्लभ उपलब्धि र लोभलाग्दो छ । सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी उनी अन्तर्राष्ट्रिय फुटबलमा अत्यधिक गोल गर्ने पहिलो महिला खेलाडी हुन् । उनलाई ‘गोल मसिन’ उपनामले पनि चिनिन्छ ।
फ्रान्सको शीर्ष डिभिजनको क्लब ‘अन आभान्ट ग्वेङ’गाम्प’मा अनुबन्ध साम्बा युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
गोर्खा कपको २३ औं संस्करण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा आयोजक तमुधिं यूकेले जनाएको छ । पत्रकार सम्मेलनमा खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले सन् १९९६ मा ७ ए साइडबाट शुरु गोर्खा कप २३ औं संस्करण आइपुग्दा विदेशमै नेपालीको उत्कृष्ट र ठूलो इभेन्ट बन्न पुगेको बताए । खेल बिहान ९.३० बजेबाटै खेल शुरु भई साँझ ८ बजे समापन हुने जनाए । उनले यसपटक मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानमा १६ र दुई महिला टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।
मेन क्याटेगोरिज वीनरलाई ३ हजार पाउण्ड, रनर अप १८०० पाउण्ड, भेट्रान वीनर १५०० र रनर अपलाई एकहजार पाउण्ड एवं लेडिजतर्फ वीनरलाई ६ सय र रनर अप हुनेलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने घलेले जनाए । गोर्खा कप प्रवेश शुल्क ५ पाउण्ड र कार पार्क शुल्क पनि ५ पाउण्ड राखिएको छ । १२ वर्ष मुनीका लागि भने प्रवेश निशुल्क छ ।
गोर्खा कपमा प्यारासुट डिस्प्ले, नेपालबाट युरोपमा खेल्ने पहिलो महिला राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) को प्रत्यक्ष उपस्थिति, गोरक घले र इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता, सांस्कृतिक नाच गायन, स्वास्थ्य शिविर (दन्त परीक्षणसहित) पनि गरिने उनले जनाए । त्यस्तै, गोर्खाकपस्थलमा हालै अल्डरसट टाउन फुटबल क्लबले जितेको एफए ट्रफीकपको ट्रफी समेत प्रदर्शनका लागि राखिंदैछ ।
सुरक्षा प्रवन्ध, फुड सेफ्टी र मादक पदार्थ प्रतिवन्ध (नो अल्कोहल पोलिसी) हुने उनको भनाइ थियो । गोर्खा कपमा हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई ‘लिजेन्ड अफ द फुटबल’ सम्मान समेत प्रदान गरिने संयोजक घलेले जनाए । उनले गोर्खा कपको अनुमानित खर्च ९० हजार पाउण्ड हुने बताउँदै पोहोरको खर्च ७५ हजारबाट यसपटक वृद्धि भएको बताए । दर्शकहरु १५ देखि २० हजार सहभागी हुने अपेक्षा आयोजकको छ । तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपमा सहभागिताका लागि समस्त बेलायतवासी नेपालीलाई अपिल गरे ।






