परोपकारी कार्यमा ईलमपोखरी समाज

SHARE:

आफ्नो जन्मभूमिको माया कसलाई पो हुँदैन र । तर विडम्बना देशको राजनीतिक अस्थिरताले बेरोजगारीको संख्या वृद्धि हुनु, आर्थिक नीति ज्यादै नाजुकजस्ता विविध कारणले नेपालीहरु विदेसिनु कुनै नौलो कुरा होइन ।

आज संसारको विभिन्न देशहरुमा अनेक प्रकारका पेसा अँगालेर बसोबास गरिरहेका छन् नेपालीहरु । त्यस्तै गरी युकेमा पनि नेपालीको संख्या उत्तिकै छ । त्यसमध्ये लमजुङ जिल्लाको पूर्बी भेग वा ईलमपोखरीको सेरोफेरोबाट युके आई बसोबास गर्नेहरुको संख्या नगन्य छन् । राईनास नगरपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाले ओगटेको भूभागका बासिन्दाहरुलाई कुनै पनि संकटकालीन अवस्थामा वा आवश्यक परेको खण्डमा सहयोग गर्न तत्पर रहने उद्देश्य लिएर मोहनसिङ गुरुङको अग्रसरतामा २००९ सालमा खडा भएको समाजको नाम हो, ईलमपोखरी समाज युके ।

 

सुरुका दिनदेखि नै यो समाजले विभिन्न परोपकारी कार्यक्रमहरुको आयोजना गरी सुसम्पन्न गरिसकेका छन् । ती कार्यक्रमहरु भव्य र सभ्यका साथ सम्पन्न हुनुको मुख्य श्रेय ईलमपोखरी समाजका सम्पूर्ण परोपकारी सदस्यहरुमा जानेछ । यसै सन्दर्भमा यस समाजले २८ सेप्टेम्बर २०१३ मा सल्लाहकार तथा तत्कालीन अध्यक्ष मोहनसिङ गुरुङको संयोजकत्वमा आयोजना गरेको एम्बुलेन्स च्यारिटीबाट संकलन गरिएको रु.३६,११,००९.३४ रकममध्ये पूर्वी लमजुङवासी अर्थात् ईलमपोखरी समाजका सेरोफेरोका जनताको आपतकालीन अवस्थामा सेवा दिनको लागि २०१४ सालमा एउटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको कुरा सबैलाई अवगत भएकै हो । बाँकी रहेको रकमबाट फेरि अर्को एम्बुलेन्स पनि दिने निर्णय भयो समाजका अधिकतम महानुभवहरुको सकरात्मक सोंचबाट ।

सधैं परोपकारी कार्यक्रममा हात लगाई राख्न पाए हुने थियो भन्ने सोंच भएका सर्जक महानुभवहरु नगन्य छन् यस समाजभित्र । त्यसमध्ये यस समाजका सल्लाहकार रुद्रराज गुरुङको नाम लिन चाहे यो पंक्तिकार । उहाँकै संयोजकत्वमा बुद्धमिलन माध्यमिक विद्यालयको युकेवासी भूतपूर्व विद्यार्थीहरुको सक्रियतामा साथै सम्पूर्ण अभिभावकहरुको सल्लाह सुझावअनुरुप उक्त विद्यालयको सहयोगार्थ १६ सेप्टेम्बर २०१७ मा आयोजना गरिएको च्यारिटी नाइटमा रु.२३,३५,७९७.०० संकलन गर्न सफल भएको थियो । केही समय पछाडि कोकेगाउँ निवासी हाल बेलायत रेडिङमा बस्दै आउनुभएका आशबहादुर गुरुङले रु ३०,००० दिनुभएको थियो र जम्मा रु.२३,६५,७९७ कुल रकम हुन आएको थियो । संयोजकद्वय मोहनसिङ गुरुङ तथा रुद्रराज गुरुङको पूर्वयोजना अनुसार यथासम्भव एम्बुलेन्स तथा विद्यालयको सहयोगार्थ रकम एकै अवसर पारी फेब्रुअरी २०१८ मा हस्तान्तरण गरिने तय भएको थियो । साथमा समय अनुकूल मिलेसम्म चन्ददाताहरु उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको भए तापनि बेलायतको व्यस्त जीवनको बाबजुद संयोजक मोहनसिङ गुरुङ, रुद्रराज गुरुङ, अमृता गुरुङ, सहसंयोजक, समाजका उपअध्यक्ष जीतबहदुर गुरुङ, सनमाया गुरुङ, भाञ्जी एलिसा गुरुङ, भाञ्जा अरुण गुरुङ, समाजका अध्यक्ष पूर्णराज गुरुङ, समाजका महासचिव परशु गुरुङ, नन्दा गुरुङ, आसबहादुर गुरुङ र योमाया गुरुङ, सुकमान गुरुङ र तीलबहादुर गुरुङ रकम हस्तान्तरण कार्यक्रममा सहभागिता हुन नेपाल प्रस्थानका गरेका थिए ।

पूर्वयोजना अनुसार एम्बुलेन्सजस्ता महत्वपूर्ण तथा संवेदनशील पारवहन साधन जसले आपतकालीन समयमा बिरामी राखेर सेवा पु-याउनु पर्ने साधन भएकोले ज्योतिषीको भनाइअनुसार शुभदिन पारी बिहीबार २२ फेब्रुअरीमा हस्तान्तरण कार्यक्रमको तय गरिएको थियो भने बिद्धमिलन माध्यमिक विद्यालयको सहयोगार्थ आर्थिक रकम हस्तान्तरण कार्यक्रम शुक्रबार २३ फेब्रुअरीको अपरान्ह निधो गरिएको थियो । त्यसैअनुरुप बेलायतबाट नेपाल प्रस्थान छुट्टाछुट्टै दिनमा भए तापनि माथि उल्लेखित कार्यसमितिका जिम्मेवारी व्यक्तिहरु साथै चन्दादाताहरु निर्धारित समयमा राईनास नगरपालिका–६ मोहरिया स्वास्थ्य चौकीको परिसरमा आईपुगे । सम्भवतः यसरी ठूलो जमातमा यो परोपकारी कार्यक्रमहरुको लागि ईलमपोखरी समाजको नेतृत्वमा सहभागी भएको पहिलो चोटी नै हुनु पर्दछ भन्दा फरक नपर्ला । मौसमले त्यत्ति साथ नदिए तापनि स्थानीय बासिन्दाहरुको आशावादी चेहराहरुमा छाएको खुसीयालीलाई नियाँल्दा त्यहाँको वातावरण घमाइलो नै भएको आभास हुन्थ्यो ।

धेरै समूहमा उपस्थित भएका स्थानीयवासीहरुको भव्य स्वागतको साथमा स्वास्थ्य चौकीमा प्रवेश ग-यौं औपचारिक कार्यक्रमको लागि । संयोजक मोहनसिङ गुरुङको प्रमुख आतिथ्यमा नागरिक पत्र अनलाइनका सम्पादक दीपक अधिकारीले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रमको सभापतित्व नन्दबहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय विभिन्न महिला तथा सज्जन बुद्धिजीवीहरुले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो । युकेबाट गएका टोलीले पनि आफ्ना मन्तव्यहरु व्यक्त गरेको थियो ।

औपचारिक कार्यक्रम समापनपश्चात् संयोजक मोहनसिङ गुरुङ अनि एम्बुलेन्स सञ्चालन कार्यसमितिका अध्यक्ष नन्दबहादुर गुरुङद्वयबाट विधिवत्रुपमा पूजाअर्चना र दीपप्रज्ज्वलन गरी निर्माणाधिन क्षेत्रीय अस्पताल पूर्णरुपले सञ्चालनमा नहुनुञ्जेलसम्म कुवापानीमा केन्द्रित हुनेगरी स्थानीयवासीलाई यो दोस्रो एम्बुलेन्स हस्तान्तरण गरियो । यो एम्बुलेन्स राईनास नगरपालिकामा आवस्थित रहे तापनि आवश्यकताअनुसार पूर्वी लमजुङका तमाम बासिन्दाहरुको सेवा सुविधाको लागि उपलब्ध गराइएको हो भन्ने बारेमा संयोजक मोहनसिङ गुरुङले आफ्नो मन्तव्यमा छर्लङ्ग पारिदिनु भएको थियो । हस्तान्तरणपश्चात् छोटो भलाकुसारी गरी स्थानीयवासीहरुसँग बिदा भएर सबैजना साँझको गन्तव्य राईनास गाउँको होमस्टेतिर प्रस्थान गरे ।

हामी सबैजना राईनास गाउँमा पुग्यौं करिब गोधुँली साँझमा । जहाँ राईनास गाउँका आमा समूह हातमा फूलका मालाहरु, दही चामलको टिकाको थाली लिएर हामीलाई स्वागत गर्न तयार भएर बसेका रहेछन् । यस कुरामा हामी ज्यादै अनविज्ञ थियौं कि हामीहरुले यस प्रकारको स्वागत र सम्मान पाउँछौं भनेर । धन्यवाद छ राईनास गाउँका आमा समूहलाई । एमर्जेन्सी लाईटले उज्यालो दिनु पर्ने बाध्यता बुझियो बिजुलीको लाईनमा कतै गड्बडी भएको रहेछ त्यो दिनमा । त्यतिखेरको अँध्यारोपनले यो पंक्तिकारको आफ्नो ठिट्याउली उमेरको याद दिलायो जुनबेला तिर यसरी एउटा टर्चलाईटको सहायतामा रात बिताइन्थ्यो रोधींघर आदि आदिमा । होमस्टे हाउस नम्बर १६ जहाँ बाह्य अतिथिको आगमनमा स्वागत गरिँदोरहेछ । सिमसिमे वर्षाको मौसममा आमा समूहको भव्य स्वागत सँगसँगै मीठामीठा परिकारका नास्ता अनि गाउँमै बनाएको कोदोको मीठो रक्सी (नारे पा) को चुस्कीले साँच्चिचकै रोधींघर नै बनाएको थियो । लामो समयको गफगाफ सकेपछि खड्गबहदुर गुरुङको बन्दोबस्त र निर्देशनमा बेग्लाबेग्लै पाहुनाघरतिर लाग्यौं । अन्य सदस्यहरुको सुताई (पाहुनाघर) त्यत्ति यकिन हुन सकेन तथापि यो पंक्तिकारको साथमा अन्य ४ मित्रहरु चाहिँ स्व. चित्रबहदुर गुरुङ मामाको घरमा उहाँका २ सुपुत्री माइली र साइँलीको सत्कारमा मीठो भोजन लिई जिन्दगीको पहिलो पटक यो सुन्दर गाउँमा रात बिताइयो आनन्दको साथमा । भोलिपल्टको कार्यक्रमलाई हिजो रक्सीले अलि अफ्ठ्यारो बनाउँछ कि भन्ने डर थियो तर सुनसान सन्नटाले छाएको बिहानीमा कुखुरा भालेको कुकुरी काँको आवाजले गहिरो निद्राबाट ब्यूँझायो ।

आफू तन्दुरस्त अवस्थामा नै पाएँ । चियापान गरी समुद्रको सतहदेखि १६६९ मिटरको उचाईमा रहेको लमजुङमा अति प्रसिद्ध राईनास गढको अवलोकन गर्न सबैजना उकालो लागे ।

वि सं. २०७२ वैशाख १२ को भुइँचालोले त्यहाँ गढका सबै पर्खालहरु भत्काइदिएको हुनाले पुरानो भग्नावशेषहरु देख्न नपाए पनि त्यहाँबाट देखिने चारैतिरको प्राकृतिक दृश्यले जुनसुकै पर्यटकको पनि मन किन नछोओस् । त्यहाँ ग्लिडिङ गर्न विदेशी पर्यटकहरु आउने गर्दोरहेछन् । त्यसपछि हामी फेरि गाउँतिर फक्र्याैं जहाँ कोकेगाउँको दाजुभाइहरु अर्घुंमा स्यार्का नाच्न आउनु भएको रहेछ, उहाँहरुसँग केहीछिन् सबैजना स्यार्का पनि नाचेर समयलाई मध्यनजर राखेर सबैसँग बिदा लिई बुद्धमिलन विद्यालय प्यारजुङतिर प्रस्थान गरे ।

बुद्धमिलन उच्च माविमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले तयार गरिराख्नु भएको खानाको स्वादसँगै सबैसँग भेट्घाट गरी विद्यालयको प्राङ्गणतिर लाग्यौं सबैजना । ईश्वर अधिकारीले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा राईनास नगरपालिकाकी उपमेयर धनकुमारी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठले गर्नु भएको थियो । युकेबाट गएका समाजका कार्यसमिति तथा चन्ददाताहरुलाई विद्यालय परिवारले फूलमाला खादा अबिरको साथमा मायाको चिनो पनि प्रदान गरेका थिए ।

विद्यार्थी नानीहरुको नृत्यबाट औपचारिक कार्यक्रमको प्रारम्भ भएको थियो । कार्यक्रममा पूर्वप्रधानाध्यापक, स्थानीय बुद्धिजीबीलगायत विभिन्न संघसंस्थाहरुमा आबद्ध रहेका पदाधिकारीहरुले आ–आफ्ना मन्तब्य राख्नुभएको थियो । त्यस्तै गरी युकेबाट गएको टोलीले पनि आफ्नो मन्तब्यहरु राखेपश्चात् भूपू विद्यार्थीहरु रुद्रराज गुरुङ, परशु गुरुङ, जीतबहदुर गुरुङ र पूर्णराज गुरुङको सामूहिक बाहुलीबाट विद्यालयका प्रधानाध्यापक अम्बर न्यौपाने र व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठद्वयलाई २३, ६५,७९७ र (तेईसलाख पैंसट्ठी हजार सात सय सन्तानब्बे) रुपैयाँ हस्तान्तरण गरियो । त्यसपश्चात् निर्माण गर्नु पर्ने सेमिनार हलको निरीक्षण गरियो । प्रधानाध्यापककै कार्यालयमा बसेको छोटो बैठकले उक्त रकम ३ किस्तामा क्रमशः रु. दस लाख, सात लाख र बाँकी रकम निर्माण सम्पन्न भएपछि प्रदान गरिने निर्णय गरियो । त्यसपछि औपचारिक रुपमा हाम्रो नेपाल भ्रमणको कार्यक्रम समाप्त भएको थियो ।

अनौपचारिक कार्यक्रमको लागि सबैजना प्यार्जुङ गाउँतिर लागे । सिर्जनशील आमा समूहको भव्य स्वागतले फेरि ४ दशक अगाडिको पलहरुको याद दिलायो । विभिन्न परिकारयुक्त नास्ताको साथमा व्यजलथ ध्बपिभच र ँबmयगकभ न्चयगकभ सँग टक्कर लिन सक्ने कोदोको रक्सी र अन्य पेयपदार्थबाट सामूहिक भव्य सत्कार पाएको जीवनमा पहिलो चोटी नै हुनु पर्दछ । आमा समूहको “आउनु भाछ साथी हो ईलमपोखरी युके समाज, धेरै खुसी छ सबैमा आउनु भयो हामीमाँझ’’ बोलको मार्मिक गीत र अति सुन्दर नृत्यले साँच्चै मत्रमुग्ध नै बनायो हामीलाई । अति नै अघोषित र अपारदर्शी तरिकाले तयार गरिएको अति नै स्वादिष्ट खाना ताजा खसीको मासु र अन्य परिकारको खानाले जति खाए पनि नअघाउने जस्तो भयो । विशेष सुत्रबाट मात्र थाहा लाग्यो कि समाजका उपाध्यक्ष जीतबहादुर गुरुङ तथा परिवारले प्रायोजन गर्नुभएको रहेछ सो स्वादिष्ट खाना । उहाँ तथा परिवारलाई भ्रमण टोलीको तर्फबाट यो पंक्तिकारले धन्यवाद दिन बिर्से भने ठूलो घातक नै हुनेछ । सपरिवारलाई मुरीमुरी धन्यवाद छ । उहाँको बन्दोबस्तमा सहयोग गरी तयार गरिदिनुभएकोमा सिर्जनशील आमा समूहलाई धेरै धेरै धन्यवाद छ ।

भोलिपल्ट आमा समूह हामीलाई बिदाई गर्न भनी सामुदायिक भवनमा सबै उपस्थित भएछ । छोटो भलाकुसारीपश्चात् हामी सबै गौंडातिर लाग्यौं अन्तिम दिनको गन्तव्यतिर । हाम्रो साथमा श्यामकुमार श्रेष्ठ पनि हुनुहुन्थ्यो । उहाँले विशेषगरी गौंडागट र त्यहाँको गुफासम्बन्धी र ईलम टुह्कुर अर्थात् ईलमपोखरी स्याक्र्युमा पुराना बस्तीको विशेषताहरु बारेमा धेरै अनुसन्धान तथा अध्यन गर्नु भएको रहेछ । उहाँको पथ अगुवाईमा सबैजनाले गौंडा गुफाको अवलोकन गरियो । यस गुफामा हर्कवीर स्वामीले वर्षौंसम्म आफ्नो जीवन बिताएका थिए भन्ने किम्बदन्ती सुनिन्छ । त्यसपश्चात् समुद्रको सतहदेखि १८७० मिटरको अग्लाईमा रहेको गौंडागटको भ्रमण गरियो । श्याम श्रेष्ठको भनाइअनुसार सफा मौसममा यो गौंडाकोटबाट पूर्वमा लाङटाङ हिमाल उत्तरमा मनास्लु बौदा हिमाल कंगारु हिमाल, पश्चिममा अन्नपूर्ण रेञ्ज, दक्षिणमा महाभारतका शृंखलाहरु, भू–भागमा गोर्खा धादिङ, पाल्पाको श्रीनगरसम्म देख्न सकिन्छ । त्यहाँ अलि अनैतिक काम भएको जस्तो लाग्यो । किनकि गढ वरिपरिका पर्खालका ढुङाहरु निकालेर त्यहाँ एनसेलको टावरको कन्ट्रोल रुम बनाउँदा प्रयोग गरेका रहेछन् । त्यसपछि निर्माण हुँदै गरेको क्षेत्रीय अस्पतालको दृश्यावलोकन गरी हाम्रो यात्रा अगाडि जोन्र्हे बजारतिर बढ्यो । हाम्रो समाजका ज्यादै इमान्दारी, परोपकारी भावना भएको भद्र सर्जक दम्पती सुकमान गुरुङ तथा गौनमाया गुरुङ (सानो काब्रे निवासी) को बन्दोबस्तमा आफ्नै घरको भकारीको धानको चामल, बारीको आलु, रायुको साग, दाल, खोरको खसीको मासु आदि आदिको परिकारको खाना आफ्नै भाइछोराहरुको हातबाट तयार गरी हाम्रो प्रतिक्षामा बस्नु भएको रहेछ जोन्र्हेमा ।

स्मरण रहोस् सुकमान दाइ हामीसँगै भ्रमणमा हुनुहुन्थ्यो । खुला चौरमा पलेटी कसी वनभोज खायौं मजाले । सहयोगी भाइछोराहरु, सुकमान गुरुङ तथा परिवारप्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छौं । हाम्रो अन्तिम गन्तव्य ईलम टुह्कुर अर्थात् ईलमपोखरी स्याक्र्यु ईलाका बस्ती जहाँ हाम्रा पितापुर्खाहरुले बसोबास गरेका भग्नावशेषहरुको केही खोजी गर्नुको साथै अवलोकन गर्ने उद्देश्यले सबैजना उकालो चढ्यौं ।

श्यामकुमार श्रेष्ठले त्यहाँको मानव बस्तीहरुको बारेमा बताउँदै गए । त्यत्तिबेलाको राजाको दरबारको साथमा धेरै घरबस्तीहरुको भग्नावशेषहरुको अवलोकन गरियो । यो गढ समुद्रको सतहदेखि २१८० मिटरको उचाईमा रहेको थाहा भयो । श्याम श्रेष्ठको भनाइअनुसार यो बस्ती करिब १३औंदेखि र १४औं शताब्दीको हो भन्ने किम्बदन्ती सुनिन्छ । त्यतिखेरका मानिसहरुले प्रयोग गरिने ढिकीको ओख्लो, बिस्कुन सुकाउन प्रयोग गरिने ठूलो ढुङा पनि भेटियो । ईलमपोखरी देबी मन्दिरको निर्माण गरेको रहेछ । साथै ईलमपोखरीलाई पहिलाको भन्दा धेरै राम्रो तरिकाले संरक्षण गरिएको पायौं । विशाल फुटबल ग्राउण्ड (जहाँ पहिला कातिके एकादशी र चैते पूर्णिमाको जात्रामा ठेलो हान्ने गरिन्थ्यो)को निर्माण भएको पायौं । त्यसपछि हामी सबै फेरि जोन्र्हे बजारतिर फक्र्यौं । अब हाम्रो यी १४ जना टोलीको सामूहिक औपचारिक तथा अनौपचारिक भ्रमण यहाँसम्म आएर अन्त हँुदैथियो । जोन्र्हेमा छोटो गफगाफपश्चात् समग्रमा भ्रमण आनन्दमय, सफल, अर्थपूर्ण र फाइदाजनक भएको सबैले ब्यक्त गरे ।

अन्तमा कर्मभूमि युकेमा पुनर्मिलनको अपेक्षा गर्दै कोही लागे सानो काब्रे, कोही भोवोडार, कोही झरे कोकेगाउँ भने कोही आए डाँडाथोकतिर । यो लेख पढेपछि मूल्याङकन र महसुस गर्ने हरेक व्यक्तिको सोंचमा भर पर्दछ । निजी मोजमस्ती र फाइदाउपलब्धि गर्नको लागि तय गरिएको भ्रमण नभई यो भ्रमणले “एक पन्थी दो काम“ अर्थात् “एक ढुङाले दुई चराको सिकार“ गरिएको थियो भन्दा फरक नपर्ला ।

अन्तमा यो पंक्तिकारले धन्यवाद दिने क्रममा केही व्यक्तिहरुको नाम लिनै पर्ने हुन्छ । धनप्रसाद गुरुङ (कोकेगाउँ), लक्ष्माण गुरुङ (कोकेगाउँ), श्यामकुमार श्रेष्ठ (गौंडा बजार), मिनबहादुर गुरुङ, कृष्ण गुरुङ (सानो काब्रे), खड्गबहादुर गुरुङ (राईनास) साथै सबै ड्राईभर भाइहरुप्रति उहाँहरुको अतुलनीय सहयोग, सल्लाह सुझावको लागि आभार प्रकट गर्दै मुरीमुरी धन्यवाद दिन चाहन्छु ।

अन्तमा यो परोपकारी सेवाको हस्तान्तरण कार्यक्रमलाई सुसंगठित तरिकाले व्यवस्था मिलाउनु भएकोमा समाजका सल्लहाकार तथा संयोजकद्वय मोहनसिङ गुरुङ र रुद्रराज गुरुङप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

प्रस्तोता : परशु गुरुङ
सेक्रेटरी, ईलमपोखरी समाज युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!