अब सम्झनामा मात्र पद्मरत्न

SHARE:

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलन, मानवअधिकार, भाषिक आन्दोलन र आदिवासी जनजाति आन्दोलनको अगुवा पद्यरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले नेपाली जनताले जुझारु योद्धा गुमाएको राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

जन्मेपछि मृत्यु हुनु स्वभाविक हो । तर जन्मेपछि समाज र राष्ट्रका लागि केही योगदान गरेर सरमाजका लागि प्रेरणाको पाठ छोडेर जाने कमै मात्र हुन्छन । यस्तै समाजको प्रेरणाको स्रोत बनेर इहलीला त्याग गर्ने मध्यका एक हुन पद्मरत्न तुलाधर ।
उनको नेपालको भाषिक अन्दोलन र मानवअधिकारको पक्षमा काम गर्दागर्दै ७८ वर्षको उमेरमा निधन भएको छ ।

रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा आइतबार मध्याह्न निधन भएको नर्भिक अस्पतालले जनाएको छ । सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका तुलाधरलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो ।

तुलाधर भाषा आन्दोलनबाट उदाएका नेता थिए । नेपाल भाषा मंकाः खलःको अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए । तर, उनको परिचय त्यतिमा मात्रै सीमित भएन । चिन्नेहरुले उनलाई मानवअधिकारवादी आन्दोलन, लोकतान्त्रिक आन्दोलन, बाम आन्दोलनका नेता भनेर पनि चिन्ने गर्दछन ।

अझ जनजाति आन्दोलनमा लाग्नेहरुका निम्ति उनी प्रेरणादायी व्यक्ति थिए । पछिल्लो समय उनी पहिचानवादी नेताको रुपमा चिनिन्थे । तुलाधर रुन्चे नेता भनेर पनि चिनिन्थे ।

उनी भाषण गर्दा मात्रै होइन, पढ्दा तथा फिल्म हेर्दा पनि रुन्थे । राष्ट्रिय पञ्चायतको सदस्य छँदा रोस्ट्रममा उभिएर भ्रष्टाचारको विरोधमा बोलेका तर कसैले समर्थन नगरे जस्तो पाएपछि तुलाधर रोएको कुरा बेलाबेलामा चर्चा भइरहन्थ्यो । २०४२ सालमा तुलाधर तत्कालीन नेकपा (माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेद्वारका रुपमा उठेर अत्यधिक मत सहित विजयी भएका थिए ।

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौबाट सूर्य चिह्नमा चुनाव जितेका थिए । तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए । तुलाधरलाई तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण सहजकर्ताको भूमिका खेलेको ब्यक्तिको रुपमा पनि चिनिन्छ । सुरुमा एमाले निकट भनेर चिनिने तुलाधरलाई शान्ति प्रक्रियापछि भने माओवादी भनेर चर्चा गर्न थालियो । तुलाधरका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन् । पछिल्लो काल खाण्डमा पहिचानको आन्दोलनमा सक्रिय रहेको थिए तुलाधर । तुलाधरको निधनप्रति विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति– उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व. तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गरे । उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गरे । “मैले उनलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति प्रक्रियाको पहलकर्ता आदरणीय पद्मरत्नज्यूको निधनले म स्तब्ध भएको छु”, उपराष्ट्रपतिले परिवारजनसँग भने ।

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको सङ्घर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उनले पु¥याएको योगदान सगरमाथा जस्तो उच्च रहेको बताए । उपराष्ट्रपतिले पद्मरत्नको भौतिकरुपमा निधन भए पनि सधैँका लागि बाँचिरहने बताए । “मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ ऊ अमर रहन्छ”, उनले भने ।

तुलाधरको योगदान सदा स्मरणीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताएको छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताए । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गरेको छ ।

शान्ति प्रक्रियाका सहजकर्ता तुलाधर : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उनको योगदान स्मरणीय रहेको बताएको छ ।

दिवङ्गत भएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियामा उनले यस्तो समन्वयकारी भूमिका निर्वाह गरे, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गरे ।” नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उनले गरेको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए । यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उनले राष्ट्रिय सम्मानका साथ उनको अन्त्यष्टि गर्न पहल गरिने बताए । नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको भन्दै उनले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिए ।

यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुग्नुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गरे । नेकपाका महासचिव विष्णु पौडेलले राजनीतिक तथा मानवाधिकार संरक्षणका क्षेत्रमा उनले गरेको योगदान अविस्मरणीय रहेको बताए । नेत्री हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिँदै भने, “लोकतान्त्रिक आन्दोलन र पञ्चायती शासनविरुद्धको खम्बा थिए ।” उनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुगेको थियो ।

मानवाधिकारकर्मी सुबोध प्याकुरेलले तुलाधर सामाजिक न्याय र लोकतन्त्रलाई दृढतापूर्वक पक्रिएर अघि बढ्ने मूर्धन्य व्यक्तिका रुपमा स्मरण गर्दै मानवाधिकार अनुकूल शासन व्यवस्था हुनुपर्छ भन्ने पक्षका अभियानकर्मीका रुपमा सम्झिए ।
अधिकारकर्मी दमननाथ ढुङ्गानाले जिन्दगीभर निष्ठाको लडाइँ लड्ने तथा वामपन्थी राजनीति, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा सम्झिए । उनले तुलाधरको अवसानपछि शान्तिप्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्न सरकारले गम्भीरताका साथ पूरा गर्नुपर्नेमा बताए । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ अधिकारकर्मी मल्ल के सुन्दर, संस्कृतिविद् डा चुन्दा बज्राचार्य, बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्य, दुर्गालाल श्रेष्ठलगायत विभिन्न व्यक्तिले अस्पताल पुगेर उनप्रति श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलिका लागि अस्पतालमा तुलाधरका शुभेच्छुक तथा शुभचिन्तकको भीड लागेको थियो ।

कुशल मध्यस्थकर्ता गुमायौं–सभामुख
सभामुख कृष्णबहादुर महराले मानवाधिकारवादी तथा वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनले नेपालको अधिकार प्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति प्रक्रियाका कुशल मध्यस्थकर्तालाई गुमाएको बताएको छ । सभामुखले शोक सन्देश दिँदै तुलाधर राजनीतिक, सामाजिक, सांस्कृतिक र पहिचानको आन्दोलनका निष्ठावान्, इमान्दार र प्रष्ट वक्तालाई गुमाएको भन्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । सभामुखको सन्देशमा भनिएको छ, “उनले पञ्चायतकाल होस् या २०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि गरेको सङ्घर्ष, माओवादी जनयुद्धलाई शान्तिप्रक्रियाका ल्याउन मध्यस्थकर्ताको रुपमा खेलेको भूमिका र २०६२÷०६३ को जनआन्दोलनमा नागरिक अगुवाका रुपमा पूरा गरेको जिम्मेवारी अतुलनीय छ ।”

माओवादी आन्दोलनलाई शान्तिप्रक्रियामा ल्याउन भूमिका खेल्ने एक कुशल मध्यस्थकर्ता, एक इमान्दार, निष्ठावान् र विश्वासिलो व्यक्तित्वका रुपमा चिनेको भन्दै सभामुखले माओवादी आन्दोलनका क्रममा सरकारसँग भएका तीनवटै वार्तामा उन मध्यस्थकर्ताको रुपमा रहेको स्मरण गरेको छ ।

तुलाधरको तटस्थ र इमान्दार भूमिकाले शान्तिप्रक्रिया सफल बनाउन विशेष योगदान गरेको स्पष्ट पार्दै उनले माओवादी आन्दोलनलाई राजनीतिक शक्तिका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा स्थापित गर्न खेलेको भूमिका अतुलनीय रहेको बताएको छ ।

वामपन्थी नेता तुलाधरको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी पूर्वस्वास्थ्यमन्त्री तुलाधरको निधनमा दुःख व्यक्त गरेको हो । “स्वर्गीय तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो”, विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारकर्मी तथा वामपन्थी नेता तुलाधरको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । सभापति देउवाले स्व तुलाधरको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!