नारायणसिंह गुरुङ
लन्डन । देवाचन बुद्धिस्ट सेन्टर युकेले २४ नोभेम्बर शनिबार लन्डनको हाउन्स्लोस्थित फेलथम कम्युनिटी हलमा धुमधामको साथ देवाचन डे मनाएको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार हल, मण्डपहरु सेटअप गरेपश्चात् बिहान करिब १० बजे साङ्गे होइपामे अभिताभ बुद्धको पूजापाठ गरेर शुभारम्भ भएको कार्यक्रममा संस्थाका संस्थापक, संरक्षक तथा वर्तमान अध्यक्ष लामागुरु धरम गुरुङ, लामा काजी गुरुङ, लामा कर्ण गुरुङ र लामा राम गुरुङ लामा गुरुहरुको समूहले पूजापाठ र मन्त्र वाचन गरेका थिए । संस्थाकी महासचिव लक्ष्मी गुरुङ काम विशेषले समयमा उपस्थित नहुने भएपछि सन् २०१४ सालको मिस युके नेपालको तेस्रो रनर अप विजेता सुश्मिता थापाले सञ्चालन गरेकी थिइन् ।
देवाचन आमा प्रार्थना समितिको विशेष भोजन व्यवस्थापन रहेको कार्यक्रममा निःशुल्क भोजन लिएपछि दिउँसो करिब दुई बजेतिर उपस्थित अथितिहरुलाई आशन ग्रहण गराएपश्चात् औपचारिक कार्यक्रमको सुरूआत भएको थियो । कार्यक्रम शुभारम्भको क्रममा उपस्थित प्रमुख अतिथि टिबेटन कम्युनिटी युकेको अध्यक्ष तथा देवाचन बुद्धिस्ट सेन्टरको ट्रष्टी तथा सल्लाहकार दाल्हा छिरिङ, लामा धरम गुरुङ र तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ तीनजनाले संयुक्त रुपमा दीप प्रज्वलन गरी औपचारिक कार्यक्रमको शुभारम्भ गरेका थिए ।
अन्य उपस्थित अतिथिहरुमा हाउन्स्लो काउन्सिलका काउन्सिलर विष्णु गुरुङ, श्रीलङ्कन कम्युनिटीका अध्यक्ष श्रीलाल डाइस, भुम्दी समाज युकेका अध्यक्ष जुमकाजी गुरुङ र तमु समाज युकेका पूर्वअध्यक्ष शिवशरण गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
बुद्धिस्ट सेन्टरको हेल्थ एन्ड सेप्mटी संयोजक सुकबहादुर गुरुङले आपतकालीन अवस्थामा कसरी सुरक्षित रहने भन्ने बारेमा सेफ्टी ब्रीफ र स्वागत मन्तव्य राखेर कार्यक्रमलाई अगाडि बढाएका थिए । त्यसपश्चात् सेन्टरका सल्लाहकार शिवशरण गुरुङले संस्थापक, संरक्षक तथा अध्यक्ष धरम गुरुङको जीवनी बारेमा र यस देवाचन बुद्धिस्ट सेन्टर कसरी र कुन अवस्थामा स्थापना गरियो भन्ने बारेमा मन्तव्य राखेका थिए । त्यसपछि उपस्थित सबैजना अतिथिहरुमा क्रमशः तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, श्रीलंकन कम्युनिटीका अध्यक्ष श्रीलाल डाइस, हाउन्स्लो काउन्सिलका काउन्सिलर विष्णु गुरुङ, भुम्दी समाज युकेका अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि दाल्हा छिरिङ्गलगायतले संस्थाको विगत, वर्तमान र भविस्य सम्बन्धमा विचार राख्दै बधाई र शुभकामना व्यक्त गरे ।
त्यसपश्चात् प्रमुख लामागुरु धरम गुरुङले प्रवचन दिएका थिए र देवाचन आमा प्रार्थना समितिले नमोथय मलमपाठ गरे । यसै क्रममै कार्यक्रमको लागि विशेष योगदान पुर्याएबापत प्रमुख अतिथि दाल्हा छिरिङ्ग अनि कार्यक्रम सञ्चालिका सुश्मिता थापालाई प्रशंसा पत्र प्रदान गरियो भने त्यसपश्चात् यस वर्षमा ट्रष्टी मेम्बर तथा आजीवन सदस्यता लिएकाहरुलाई अतिथिहरुबाट प्रमाणपत्र हस्तान्तरण गराएका थिए ।
अन्त्यमा पहिलो कार्यकाल सफलतासाथ पूरा गरेबापत पालैपालो अतिथिहरुको हातबाट कार्यसमितिका सबै सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा लामा गुरुहरुबाट वाङ्ग (अभिशेष) प्रदान तथा ग्रहण गर्दै बेलुकाको छ बजेतिर भोजन ग्रहण गरेर कार्यक्रम समापन गरिएको थियो ।






