को हुन् उत्तर बहादुर गुरुङ काउन्सिलर पदमा उम्मेदवारी दर्ता गर्ने ?

SHARE:

प्रस्तुति चिमखोले काइला।

आउँदो मे ७ मा हुने बेलायतको स्थानीय निर्वाचनमा सत्तारुढ लेबर पार्टीका तर्फबाट भूतपूर्व ब्रिटिस गोर्खा उत्तर बहादुर गुरुङले रसमर बरो काउन्सिल अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डका लागि काउन्सिलर पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनी बेलायतस्थित तमु धिं युके, ह्याम्पशायर शाखाका पूर्वअध्यक्ष तथा ग्रेटर रसमर नेपाली कम्युनिटी युकेका वर्तमान उपाध्यक्ष हुन्।

ब्रिगेड अफ गोर्खाजका अत्यन्तै लोकप्रिय कवाज प्रशिक्षक (ड्रिल इन्स्ट्रक्टर) गुरुङ बेलायतका विभिन्न सामाजिक संघ-संस्थामा समेत सक्रिय छन्। मलेसियाको सुंगाई पटानीमा जन्मिएका गुरुङका पिता नैनसिङ गुरुङ (९७ वर्ष) र माता लक्षिना गुरुङ (८९ वर्ष) हुनुहुन्छ। उनको बाल्यकाल मलेसिया, सिंगापुर र कास्कीको मादी गाउँपालिका-१०, भाचोकमा बितेको थियो। उनले प्रारम्भिक शिक्षा भाचोकस्थित सेवा मिलन निम्न माध्यमिक विद्यालयबाट सुरु गरी मकैखोलाको जनकल्याण माध्यमिक विद्यालयबाट प्रवेशिका (एसएलसी) तहको अध्ययन पूरा गरेका थिए।

अध्ययनकै क्रममा दोस्रो विश्वयुद्धका योद्धा बाजे नरपति गुरुङ र बोर्नियो युद्धका योद्धा पिता नैनसिङ गुरुङको पदचाप पछ्याउँदै उनी सन् १९७९ मा ब्रिटिस आर्मीमा भर्ती भएका थिए। हङकङको सेकोङ्स्थित मलाया लाइन्समा आधारभूत सैन्य तालिम सफलतापूवर्क सम्पन्न गरेपछि उनी २/२ गोर्खा राइफल्समा आबद्ध भए।

सैन्य सेवाका क्रममा उनले जुनियर लिडर क्याडर (JLC), सेक्सन कमान्डर ब्याटल कोर्स (SCBC), वेपन ट्रेनिङ (WT), ड्रिल कोर्स, प्लाटुन कमान्डर ब्याटल कोर्स (PCBC) र न्युक्लियर बायोलोजिकल एन्ड केमिकल (NBC) जस्ता महत्वपूर्ण कोर्सहरू पूरा गरे। स्मरणीय छ, ब्रिगेड अफ गोर्खाजको इतिहासमा बेलायतमा ‘लाइट इन्फेन्ट्री ड्रिल कोर्स’ गर्ने पहिलो गोर्खा सैनिक उत्तर बहादुर गुरुङ नै हुन्।

इमानदारी, वफादारी र अनुशासनका पर्याय गुरुङले ब्रिगेड अफ गोर्खाजको कोर्सेस डिभिजन अन्तर्गत कवाज विङमा कार्यरत रहेर जुनियर तथा सिनियर एनसियो र अधिकृतहरूलाई कवाज प्रशिक्षण दिनुका साथै ‘असिस्टेन्ट वेल्फेयर अफिसर’ का रूपमा समेत सेवा गरेका थिए। ब्रिटिस आर्मीबाट अवकाश पाएपछि उनले युगान्डास्थित अमेरिकी दूतावासमा इन्टेलिजेन्स सेक्युरिटीको अनुभव समेत बटुलेका छन्।

हाल उनी बेलायतको अल्डरसटमा श्रीमती बत्ति माया गुरुङ, छोरा भुवन गुरुङ र बुहारी खुस्बु गुरुङका साथ बसोबास गर्छन्। ६७ वर्षको उमेरमा पनि निकै ऊर्जावान् गुरुङ समाजसेवा, कला र संस्कृतिमा उत्तिकै रुचि राख्छन्। सामाजिक सञ्जालमा सक्रिय उनी गीत रचना, गायन र नृत्यमा पनि दखल राख्छन्। उनले आफ्नै गाउँका बारेमा गीत सिर्जना गर्नुका साथै ‘पुर्खाको थलो’ नामक चलचित्रमा अभिनय समेत गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!