लन्डन । दोस्रो युरोपस्तरीय लिम्बु (याक्थुङ) चुम्लुङ सम्मेलन पाँचबुँदे ‘बेल्जियम घोषणापत्र’ जारी गर्दै सकिएको छ।
युरोपका विभिन्न देशमा रहेका किरात याक्थुङ चुम्लुङ बेल्जियम, पोर्तुगल, जर्मनी र माल्टाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागितामा बेल्जियममा २७–२८ जुलाई २०२६ मा सम्मेलन सम्पन्न भएको हो ।

घोषणापत्रमा ऐतिहासिक लिम्बुवानको राजधानी विजयपुर क्षेत्रमा देखिएको पछिल्लो अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै समस्याको समाधान शान्तिपूर्ण संवादबाट गर्न आग्रह गरिएको छ।
त्यसैगरी, लिम्बु समुदायको आस्था र धार्मिक केन्द्रका रूपमा रहेको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा भइरहेको निर्माण कार्य तत्काल रोक्न, विवादित कार्यको निष्पक्ष अनुसन्धान गर्न तथा सम्बन्धित निकायलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरिएको छ।
सम्मेलनअन्तर्गत आयोजित ‘लिम्बुवान प्राज्ञिक बहस–युरोप शृङ्खला–२’ मा सहभागीहरूले उठाएका जिज्ञासामाथि छलफल गर्दै भावी रणनीतिबारे समेत सहमति जनाएका थिए।
घोषणापत्रमा आगामी वर्ष हुने युरोपस्तरीय सम्मेलन तथा ‘लिम्बुवान प्राज्ञिक बहस–युरोप शृङ्खला–३’ को आयोजना (होस्ट) जर्मनीस्थित किरात याक्थुङ चुम्लुङले गर्ने निर्णय पनि गरिएको उल्लेख छ।
सम्मेलनको घोषणापत्रमा किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष वदन योङहाङ, जर्मनीका सन्चमान लिम्बु, पोर्तुगलका रुकमान केरुङ तथा माल्टाका प्रेम लिम्बुले हस्ताक्षर गरेका छन्।







