लन्डन । लमजुङ घर भइ हाल बेलायतमा रहेका समाजसेवी, गीतकार तथा राजशान्ति फाउन्डेसनका संस्थापक राजशान्ति सुनारले वरिष्ठ लोकगायिका माया गुरुङ सांगीतिक साँझ–२०८३ लाई ५० हजार सहयोग गरेका छन् ।
सांगीतिक साँझका लागि पहिलो सहयोगी दाताका रूपमा सुनारले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले जनाएको छ।
यस्तै, प्रतिष्ठानभित्र कलाकार कल्याण र लोकसंस्कृतिको संरक्षणका लागि स्थापना गरिने ‘राजशान्ति अक्षय कोष’ का लागि थप १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि राजशान्तिले गरेका छन्।
स्थापना हुन लागेको ‘राजशान्ति अक्षय कोष’बाट प्रत्येक वर्ष लमजुङमा जन्मिएर नेपाली लोकगीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नवप्रतिभा कलाकारलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले सुनारको योगदानलाई केवल आर्थिक सहयोग नभई लोकसंस्कृतिको संरक्षण, स्रष्टाप्रतिको सम्मान तथा कलाकारको भविष्य सुरक्षित बनाउने अभियानप्रतिको गहिरो विश्वास र आत्मीय साथका रूपमा लिएको जनाएको छ।
राजकुमार सुनार तथा श्रीमती शान्ति सुनार (राजशान्ति)ले देखाएको उदारता, दूरदर्शिता र लोकगीत–संगीतप्रतिको समर्पण राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको इतिहासमा सधैं सम्मानका साथ स्मरणीय रहने प्रतिष्ठान लमजुङले उल्लेख गरेको छ।
लोकगायिका माया गुरुङ (देवीमाया थापा गुरुङ)को सम्मानमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले सदरमुकाम बेँसीसहरमा आगामी असोज १० गते ‘माया गुरुङ साङ्गीतिक साँझ’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले लोकगायिका मायाको चार दशकभन्दा लामो साङ्गीतिक योगदानको सम्मान गर्दै कार्यक्रम गर्न लागिएको र सो कार्यक्रमबाट कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य राखिएको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले नेपाली लोकसङ्गीतका अग्रज कलाकारको सम्मानसँगै कलाकारको सामाजिक सुरक्षालाई संस्थागत गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।






